अमेरिकी राष्ट्रपतिकालागि आज मतदान हुँदै

विश्वको सबैभन्दा पुरानो लोकतान्त्रिक मुलुक अमेरिकाका नागरिकले आफ्नो ४७ औँ राष्ट्रपतिका लागि आज मतदान गर्दैछन् । राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस बीच प्रत्यक्ष प्रतिस्पर्धा छ ।  कमला ह्यारिस हाल संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपति हुन् भने डोनाल्ड ट्रम्प सन् २०१७ देखि  २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए।

अमेरिकाको ९५ प्रतिशत क्षेत्रमा मतपत्र वा ब्यालेट मार्किङ डिभाइसबाट मतदान गरिन्छ ।  यस वर्षको निर्वाचनमा हालसम्म करिब ७.५ करोड अर्थात् ३७ प्रतिशत मतदाताले हुलाकमार्फत मतदान गरिसकेका छन् । आजको  मतदानमा करिब ६० प्रतिशत मतदाताले भाग लिन सक्ने बताइएको छ ।

मत गणना कसरी हुन्छ र परिणाम कहिले आउँछ ?

अमेरिकी समयअनुसार  नोभेम्बर  ५ मा साँझ ७ बजे (नेपाली समयअनुसार कात्तिक २१ बिहान ४: ४५ बजे) मतदान सम्पन्न हुनेछ  । त्यसपछि मतगणना शुरू हुनेछ ।  सामान्यतया मतदान को  १ दिन पछि परिणाम घोषणा गरिन्छ।

सन् २०२० मा  भएको चुनावमा  मतदान भएको ४ दिनपछि नतिजा सार्वजनिक भएको थियो । सो समय  कोभिड-१९ का  कारण  करिब ६० प्रतिशत मानिसले हुलाकमार्फत मतदान गरेका थिए । जसको कारण मतगणनाका लागि बढी समय लागेको थियो । यस पटकको निर्वाचनको परिणाम  भने १,२ दिनमा आउन सक्ने अपेक्षा गरिएको छ । मतगणनाको समयमा उम्मेदवारबीच मतअन्तर बढी भएमा नतिजा छिटो आउँछ ।  कुनै राज्यमा दुई उम्मेदवारबीच  ५० हजारभन्दा बढी मतको अन्तर छ  र २० हजार मत मात्र गणना  गर्न  बाँकी छ भने अग्रतामा रहेका उम्मेदवार विजयी भएको घोषणा गरिन्छ ।  यदि यी दुईबीचको विजयको अन्तर कम छ भने अमेरिकी कानुनअनुसार नतिजा पुष्टि गर्न पुरै मत गणना गर्ने गरिन्छ ।

निर्वाचित हुन मतदाताको सर्वाधिक मत ल्याएर मात्र पुग्दैन। सबैभन्दा धेरै मतदाताको समर्थन पाउने उम्मेदवार पनि राष्ट्रपतिको निर्वाचनमा पराजित हुने सम्भावना रहन्छ। अमेरिकाका ५० राज्यसँग भएको इलेक्टोरल कलेज मतको कुल सङ्ख्या ५३८ छ । कम्तीमा २७० इलेक्टोरल कलेज मत पाउने उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छ ।

राष्ट्रपति चुनावका प्रमुख मुद्दाहरु के हुन ? 

आज सम्पन्न हुन लागेको राष्ट्रपतीय चुनावमा आप्रवासन र गर्भपतन  २ ओटा मुख्य मुद्दा छन् । अमेरिकामा जन्मदर कम हुँदै गएको छ भने आप्रवासन बढ्दै गएको छ । यी दुबै मुद्दाको अन्तिम लक्ष्य भनेको जनसंख्या व्यवस्थापन नै हो । अमेरिकी चुनावमा आप्रवासन एउटा प्रमुख मुद्दाको रुपमा देखा परेको छ ।

मेक्सिको–अमेरिका बीच ३ हजार २०० किलोमिटर लामो सीमामा अवैध रूपमा आप्रवासी  प्रवेश गर्ने गर्छन् । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले हालै आप्रवासीलाई राक्षस र जनावरको संज्ञा दिंदै आप्रवासनको मुद्दालाई चर्को रूपमा उठाएका छन् । उनले यो मूद्दा २०२० को राष्ट्रपतीय निर्वाचनमा समेत जोडले उठाएका थिए । ट्रम्पले आफू राष्ट्रपति बनेमा अमेरिकी नागरिकको हत्या गर्ने आप्रवासीलाई मृत्युदण्ड दिइने बताएका छन् । कमला ह्यारिसको उपराष्ट्रपतिकालमा डोनाल्ड ट्रम्पले आप्रवासनको मुद्दालाई लिएर बारम्बार निशाना बनाएका थिए । आप्रवासन रोक्ने र जन्मदर बढाउनु पर्ने ट्रमको मुद्दा छ । जसको लागि गर्भपतनमा कडाइ गर्नुपर्ने ट्रम्पको माग छ ।

त्यस्तै अर्को मु्द्दा गर्भपतन र महीला अधिकारसंग जोडिएको छ ।  सन् १८८० को दशकसम्म अमेरिकामा गर्भपतन सहज र कानुनी थियो । तर सन्  १८७३ मा  अमेरिकी कंग्रेसले एक कानून पारित गर्दै गर्भपतनको औषधिमाथि प्रतिबन्ध लगाएको थियो ।  सन् १९०० सम्ममा  लगभग सबै राज्यमा गर्भपतनमा प्रतिबन्ध लगाइएको थियो।  गर्भावस्थाका कारण आमाको ज्यान खतरामा परेको खण्डमा मात्र गर्भपतन गर्न सकिने कानुनी व्यवस्था गरिएको थियो ।

सन् १९६० को दशकमा अमेरिकामा महिलाहरूले आफ्नो अधिकारका लागि आन्दोलन गर्न थाले ।  सन् १९७३ सर्वोच्च अदालतले संयुक्त राज्य अमेरिकामा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो। त्यसपछि सन् २०१७ सम्म गर्भपतनमा पहुँच सीमित गर्न १००० भन्दा बढी कानूनहरू पारित भएका छन्  । अमेरिकी महिलाहरूले यी कानूनहरूको विरुद्ध र गर्भपतनको अधिकारको लागि धेरै पटक प्रदर्शन गरेका छन्। डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिसले यही मुद्दालाई चुनावी अस्त्र बनाएकी छन् । जसको कारण ह्यारिस आप्रवासीप्रति नरम देखिएकी छन् ।

१६८ वर्षदेखि  चुनावमा दुई दलको प्रतिस्पर्धा रहँदै आएको छ । संयुक्त राज्य अमेरिकाको गठन पछिको पहिलो चुनाव १७८८/८९ मा भएको थियो। यो चुनावमा जर्ज वासिङ्टन संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बनेका थिए । सन् १८०० मा  डेमोक्र्याटिक–रिपब्लिकन पार्टी सत्तामा आयो । पार्टी  दुई दशकसम्म सत्तामा रह्यो ।

सन् १८२४ को राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक-रिपब्लिकन विभाजन भइ  नेशनल रिपब्लिकन र डेमोक्र्याट गरी दुई गुटमा विभाजित भयो। पहिलो पटक सन् १८५६ मा  रिपब्लिकन र डेमोक्र्याटिक पार्टीबीच राष्ट्रपति पदका लागि प्रतिस्पर्धा भएको थियो ।  सन् १८५६ यता यी दुई दलले  १६८ वर्षमा ४२ पटक चुनाव लडेका  छन् । यी ४२ निर्वाचनमध्ये रिपब्लिकन पार्टीले २४ पटक जितेको छ भने डेमोक्र्याटले १८ पटक जितेका छन्  ।  तर,  पछिल्लो ६ वटा चुनावमा दुवै दलले  ३–३ वटा चुनाव जितेका छन् । एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको