चिया व्यवसायीका अनुसार गोल्डेन टी, ह्वाइट टी र सिल्भर टी जस्ता चिया उच्च गुणस्तरका हुन्छन् । यी चिया पातको सबैभन्दा माथिल्लो सुइरो टिपेर बनाइन्छ । यिनलाई प्रिमियम चियाको वर्गमा राखिन्छ । यो चिया हिमाली र पहाडी क्षेत्रको उच्च भूभागमा खेती गरिने अर्थोडक्स चियाको एक भाग हो । चिनियाँ कम्पनीको टोलीले चैत ८ मा इलामका विभिन्न चिया बगान र उद्योग अवलोकन गरेको थियो । ‘गुणस्तर पास भएमा यसै वर्ष सय मेट्रिक टन चिया चीन लैजाने चिनियाँ व्यवसायीको भनाइ छ,’ चापागाईंले भने, ‘हामीले पाएको माग त्यसैमध्येको एक भाग हो ।
पाँच हजार रुपैयाँ प्रतिकिलोका दरले विक्री हुने हो भने सय मेट्रिक टनको मूल्य ५० करोड पुग्छ । चीनमा हाल सीमित परिमाणमा मात्र चिया निर्यात भइरहेको छ । यो माग मात्र पूरा गर्ने हो भने पनि चीनमा चियाको निर्यात ह्वात्तै बढ्नेछ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ७ महीनामा ८० लाख रुपैयाँ बराबरको मात्र चिया चीन निर्यात भएको छ । चिया व्यवसायी भने उच्च गुणस्तर र उच्च मूल्य पर्ने चिया निर्यातको सम्भावना प्रशस्त रहेको बताउँछन् ।
चिया व्यवसायी चिरन दाहालले इनोभेटिभ कम्पनीको टोलीलाई चिया बगान घुमाएका थिए । टोली नेपाली चिया चिनियाँ बजारमा लैजाने सम्भावना अध्ययन गर्न नेपाल आएकाले सातओटा बगानबाट चियाको नमूना परीक्षणका लागि लिएर गएको उनले बताए ।
‘परीक्षणमा नेपाली चियाको गुणस्तर पास भएमा उक्त कम्पनीले यसै वर्ष सय मेट्रिक टन माग गर्ने र आगामी वर्ष ६/७ सय मेट्रिक टनसम्म माग गर्ने कुरा भएको छ । यसो भयो भने नेपाली व्यवसायी भारतीय बजारमा मात्र निर्भर हुनुपर्ने छैन । तर, चिया भने उच्च गुणस्तरको हिमाली हुनुपर्ने छ,’ उनले भने । उक्त कम्पनीको टोली २ हप्तापछि फेरि नेपाल फर्कने उनले बताए । ‘उक्त कम्पनीलाई चिया निर्यातका लागि उद्योग वाणिज्य संघ इलाम र इलाम नगरपालिकाले सम्झौता गर्ने गरी प्रक्रिया पनि अघि बढेको छ,’ दाहालले भने ।
चिया तथा कफी विकास बोर्डका अनुसार आव २०७८/७९ मा नेपालमा १ हजार मेट्रिक टन मात्रै अर्थोडक्स चिया उत्पादन भएको तथ्यांक छ । त्यसैले चीन सरकारले निर्यात अनुमति दिए चिनियाँ व्यवसायीको माग पूरा गर्न नेपाललाई हम्मेहम्मे पर्ने देखिन्छ । यसका लागि उत्पादन बढाउनुका साथै उत्पादन प्रक्रिया र गुणस्तरमा ठूलै फेरबदल गर्नुपर्ने व्यवसायी दाहालको भनाइ छ । एकनास रूपमा उच्च गुणस्तर कायम गर्न नसक्दा विगतमा महदेखि विभिन्न वस्तुको निर्यात ओरालो लागेको थियो ।
दाहालका अनुसार बगान, फ्याक्ट्रीको सरसफाइदेखि धेरै कुरामा व्यवसायीले ध्यान दिनुपर्नेछ । चीन ठूलो बजार भए पनि त्यहाँ नेपालको समग्र निर्यात नगन्य छ । कृषिजन्य सामग्रीको निर्यात पनि एकदमै थोरै छ । नेपाली निर्यातकर्ताले गुणस्तरलगायत गैरकर अवरोध चिनियाँ बजारमा कृषिजन्य सामग्री निर्यात बढाउन नसक्नुको मुख्य कारण रहेको बताउँदै आएका छन् । चीनमा चिया निर्यात गर्न यस्ता अवरोध हटाउन सरकारी निकायबाट केही पहल भएको छैन ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी महेश आचार्यले आफ्नो कार्यालयबाट चीनमा चिया निर्यातको विषयमा काम नभएको आर्थिक अभियानलाई बताए ।
उनका अनुसार बेच्ने र किन्ने पक्षबीच एकआपसमा कुरा मिलेपछि क्वारेन्टाइनले प्रमाणपत्र उपलब्ध गराउन भूमिका खेल्ने गरेको छ । गैरकर अवरोधसँगै भाषा अर्को समस्याका रूपमा रहेको आचार्यले बताए । उनका अनुसार सबै व्यवसायीले चीनमा निर्यात गर्न पनि सक्दैनन् । पहुँच हुनेले मात्रै निर्यात गर्न सक्छन् । चीनमा चिया बजार विस्तार गर्न सरकारले पनि सहयोग गर्नुपर्ने व्यवसायीको भनाइ छ । ‘यदि सरकारी स्तरबाट चीनमा निर्यातको बाटो खोल्न सकियो भने नेपाली चियामा भारतीय दबदबा तोड्न सकिन्छ,’ चापागाईंले भने, ‘भारत बाहेकका अन्य मुलुकमा नेपाली चियाको बजार विस्तार गर्न रासायनिक विषादीरहित गुणस्तरीय उत्पादनमा जोड दिनुपर्छ अनि यसको चेतना किसान तहसम्म पुर्याउनु पनि जरुरी छ ।’
बोर्डको तथ्यांकअनुसार नेपाली चियाको निर्यात प्रवृत्ति हेर्दा कुल निर्यात मूल्यको करीब १५ प्रतिशत मात्रै भारतबाहेकका मुलुकमा पुगेको देखिन्छ । यद्यपि भारतले नेपाली चियालाई आफ्नै ब्रान्डमा विदेश निर्यात गर्ने, उत्पादनको राम्रो मूल्य नदिने र विभिन्न समयमा नेपाली चिया निकासीमा अवरोध गर्ने भएकाले नेपाली चिया व्यवसायीको पछिल्लो आकर्षण चिनियाँ बजार बन्न थालेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालले गत आव २०७९/८० मा ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको छ । त्यसमा ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको भारत गएको थियो । चीनमा ११ लाख रुपैयाँको मात्र चिया निर्यात भएको तथ्यांक छ । पश्चिम बंगालसहित भारतका केही राज्यमा नेपाली सीटीसी र अर्थोडक्स चिया निर्यात हुँदै आएको छ । नेपालमा वार्षिक २० हजार २ सय हेक्टर जमीनको खेतीबाट २६ हजार ३ सय मेट्रिक टनभन्दा बढी चिया उत्पादन हुने चिया तथा कफी विकास बोर्डको तथ्यांक छ ।
बोर्डका निर्देशक डा. दीपक खनालका अनुसार पछिल्लो समय चिनयाँ बजारमा नेपाली चियाको माग बढे पनि केही नीतिगत समस्याका कारण सहज रूपमा निर्यात हुन सकेको छैन । जेजति निर्यात गरिएको छ त्यो व्यवसायीको व्यक्तिगत सम्बन्धले सम्भव भएको हो । बोर्डको पहलमा २ वर्षअघि चिनियाँ बजारमा चिया निर्यातको लागि जीटूजी गर्ने पहल भए पनि त्यो सफल हुन सकेन ।
‘उनीहरूले नेपाली चियाको स्वास्थ्य परीक्षण रिपोर्ट खोज्छन् । तर, हामीसँग परीक्षण गर्ने अन्तरराष्ट्रिय मापदण्डको ल्याब छैन । अर्कातिर नेपाली चियालाई स्वास्थ्य परीक्षण प्रमाणपत्र कुन निकायले दिने भन्ने पनि सरकारले तोकिदिएको छैन ।
अहिले चीन सरकारको जनरल एडमिनिस्ट्रेशन अफ चाइना कस्टम (जीएसीसी)ले आयात गर्नुपर्ने वस्तुको सूचीमा नेपाली चिया पनि राखेको छ । तर, आयात गर्न आयातकर्ताले चीन सरकारसँग अनुमतिपत्र लिनुपर्ने हुन्छ । उक्त अनुमतिपत्र प्राप्त गर्न निकै झन्झटिलो भएका कारण समस्या भएको छ । यसका लागि कूटनीतिक पहल हुन जरुरी छ,’ उनले भने ।
केही दिनअघि गोर्खा टी इस्टेट प्रालिले चीनको क्वाङचाओस्थित इनोभेशन बे कल्चरल टेक्नोलोजी लिमिटेड कम्पनीबाट उच्च गुणस्तर र उच्च मूल्यको २ हजार किलो चियाको माग प्राप्त गर्यो ।

