नेपाल धितोपत्र बोर्डले दुईवटा नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ। बोर्डले २०८३ वैशाख २ गते लक्ष्मी सनराइज क्यापिटल र सिद्धार्थ क्यापिटलद्वारा व्यवस्थापन गरिने दुई छुट्टाछुट्टै क्लोज म्युचुएल फन्डलाई स्वीकृति दिएको हो।
लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘एलएस होराइजन १२’ लाई १२ करोड इकाई निष्कासनका लागि अनुमति दिइएको छ। त्यसैगरी, सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘सिद्धार्थ इक्विटी फण्ड २’ लाई १० करोड इकाई निष्कासनको स्वीकृति प्राप्त भएको छ। दुवै म्युनुएल फन्ड क्लोज प्रकृतिका रहेका छन् र यिनीहरूको प्रति इकाई मूल्य १० रुपैयाँ तोकिएको छ।
बोर्डबाट अनुमति पाएसँगै अब यी दुई कोष व्यवस्थापकहरूले कुल २२ करोड इकाई (२ अर्ब २० करोड रुपैयाँ बराबर) सर्वसाधारणका लागि बिक्री खुल्ला गर्ने प्रक्रिया अगाडि बढाउनेछन्। धितोपत्र बोर्डको यो निर्णयसँगै पूँजी बजारमा सामूहिक लगानी कोषको दायरा अझ फराकिलो हुने देखिएको छ।

