मेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रति शेयर रु १०० अंकित दरमा १५ लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको जनाएको छ।
यसका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई संस्थागत परामर्श तथा निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। सम्झौतापत्रमा मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारी र मेची इन्डष्ट्रिजका अध्यक्ष पवन घिमिरेले हस्ताक्षर गरेका हुन्।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ, नेपाल एसबीआई बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। यसले लगानी व्यवस्थापन, धितोपत्र निष्काशन, शेयर रजिष्ट्रार सेवा तथा संस्थागत परामर्शलगायत सेवा प्रदान गर्दै आएको छ।
झापाको दमकस्थित ताराबारी क्षेत्रमा स्थापना भएको मेची इन्डष्ट्रिज अटोक्लेभ्ड एरेटेड कङ्क्रिट (AAC) ब्लक उत्पादन गर्ने उद्योग हो। बालुवा, सिमेन्ट र चुनामा आधारित यी ब्लकहरू हलुका, ताप तथा अग्नि प्रतिरोधी र वातावरणमैत्री हुने भएकाले परम्परागत इँटाको विकल्पका रूपमा प्रयोग हुँदै आएका छन्।
हाल कम्पनीको वार्षिक उत्पादन क्षमता २१ लाख ६० हजार गोटा रहेको छ। कम्पनीले आगामी दिनमा एडेहसिभ, रेडिमिक्स प्लास्टर र वाल पुट्टी उत्पादनका लागि आवश्यक प्लान्ट तथा मेसिनरी जडानलाई पनि तीव्रता दिएको जनाएको छ।

