भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफू मातहतका कार्यालयहरूमा विचौलिया निषेध गरिएको जनाएको छ।
शुक्रबार मन्त्रालयको वेवसाइटमा प्रवक्ताको नामबाट जारी गरिएको प्रेस विज्ञप्तिमा विचौलियाको संलग्नतालाई कडाइका साथ निषेध गरिएको उल्लेख छ।
आफ्नो मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सार्वजनिक सेवालाई सरल, सहज, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्य राखिएको मन्त्रालयको भनाइ छ। त्यसैले सेवाप्रवाह गर्दा कुनै पनि प्रकारको अनियमितता, अवाञ्छित शुल्क असुली, विचौलियाको संलग्नता र सेवाग्राहीलाई झन्झट बनाउने कार्यहरू निषेध गरिएको मन्त्रालयले बताएको छ।
‘यस मन्त्रालय तथा मातहतका विभाग, निकाय र कार्यालयहरूबाट प्रवाह हुने सार्वजनिक सेवाहरूलाई सरल, सहज, पारदर्शी तथा प्रभावकारी बनाउने उद्देश्यले,’ विज्ञप्तिमा भनिएको छ, ‘सेवा प्रवाह प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता, अवाञ्छित शुल्क असुली, विचौलियाको संलग्नता तथा सेवाग्राहीलाई अनावश्यक झन्झटमा पार्ने कार्यहरू कडाइका साथ निषेध गरिएको व्यहोरा सम्बन्धित सरोकारवाला सबैमा जानकारीको लागि अनुरोध छ।’

