
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर बजार सम्बन्धी नीतिलाई केही खुकुलो बनाएलत्तै सेयर बजारमा उछाल आएको छ ।आइतबार शेयर बजार मापक नेप्से सूचक ३ प्रतिशत बढेको छ भने कारोबार रकम पनि बढेको छ।
बजार आइतबार ६१.०५ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २०७८.५१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.०९ अंकले बढेर ३९८.३३ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि पौने ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
राष्ट्र बैंकले गरेको मौद्रिक नीतिमा यसअघि लगाइएको शेयर धितो कर्जाको ४-१२ को सिमामा संशोधन गर्दै ४ करोडको सिमालाई खारेज गरेको छ। अब लगानीकर्ताले एउटा बैंकबाट १२ करोड रुपैयाँसम्म शेयर धितो कर्जा लिन पाउने भएका छन्।
त्यस्तै साना लगानीकर्तालाई प्रोत्साहन गर्नको लागि २५ लाख रुपैयाँसम्मको शेयर धितो कर्जामा १०० प्रतिशत नै जोखिम भार कायम गरेको छ। २५ लाखभन्दा माथिको कर्जामा भने जोखिम भार १५० प्रतिशत कायम गरिएको छ।
मर्जरमा वा प्राप्तिमा गएका कम्पनीको सेयर कारोबार रोक्का हुने राष्ट्र बैंकले गर्दै आएको व्यवस्थालाई हटाएको छ । त्यो व्यवस्थालाई धितोपत्र बोर्डले आफ्नो कानून अनुसार व्यवस्था गर्ने व्यवस्था गरिएको छ ।
यो दिन नेप्सेमा उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। आज वित्त समूह सर्वाधिक ७.२२ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ६.९३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.६७ प्रतिशत, व्यापार समूहमा ४.४४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.७५ प्रतिशत, विकास बैंक समूहमा ५.१ प्रतिशत, जलविद्युत समूहमा ३.६८ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९४ प्रतिशत, लघुवित्त समूहमा ३.९१ प्रतिशत, जीवन बीमा समूहमा २.१६ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.१६ प्रतिशत र लगानी समूहमा ३.२१ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन शिवम सिमेन्टको सर्वाधिक ३९ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ८२ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ६ करोड ५९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड २१ लाख रुपैयाँ, अरुण काबेली पावरको ६ करोड १४ लाख रुपैयाँ, प्रभु बैंकको ५ करोड ९४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ५ करोड ५४ लाख रुपैयाँ, स्वावलम्बन लघुवित्तको ५ करोड ५ लाख रुपैयाँ कारोबार भएको छ।
आज ५ कम्पनीका सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टीपर्पस फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा स्वावलम्बन लघुवित्त र रिलायन्स फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। त्यस्तै शिवश्री इन्भेस्टमेन्ट, बेस्ट फाइनान्स, रिभल फल्स पावर, नेसनल हाइड्रोपावर र ग्रीन भेन्चर्सको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
आज युनिलिभरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ०.३८ प्रतिशतको गिरावट आएको छ।