हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार आजबाट शुरु

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आज साउन १ गते सुरु भएको छ।

आज काठमाण्डौमा एक विशेष समारोहको आयोजना गरी मर्जरपछि हिमालयन एभरेष्ट इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत निर्जीवन बीमा सेवा कारोबार सुरु भएको उद्घोष गरिएको हो। यी दुवै कम्पनीको गत असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पारित भएका थिए।

नियामक बीमा समितिले चुक्ता पुँजी वृद्धि अनिवार्य गरेपछि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स गाभिने निर्णयमा पुगेका थिए। बीमा क्षेत्रको यो पहिलो मर्जर हो।

होटल याक एण्ड यतिमा औपचारिक कार्यक्रम आयोजन गर्दै एकीकृत कारोबार सुरुवात गरिएको हो। बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले हिमालयन एभरेष्ट इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक गर्दै एकीकृत कारोबारको उद्घाटन गरेका हुन्।

मर्जरपछि कम्पनीको अध्यक्ष महेन्द्रकृ‍ष्ण श्रेष्ठ चयन भएका छन् भने प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह नियुक्त भएका छन्।

मर्ज भएपछि संयुक्त कम्पनीको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँनजिक पुगेको छ। मर्जरअघि एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी सवा एक अर्ब रुपैयाँ हाराहारी र हिमालयनको १ अर्ब १७ करोड हाराहारी थियो।

संयुक्त मर्जर समितिका संयोजक आजय रत्न स्थापितले निर्जीवन बीमा क्षेत्रमा हिमालय एभरेष्ट उत्कृष्ट कम्पनी बन्ने दाबी गरे।

कम्पनीले ‘सुरक्षा र साथ, अझ बढी विश्वास’ नाराका साथ इन्स्योरेन्स फर अल, डिजिटाइजेसन, बिल्डिङ ह्युमन क्यापिटल इन इन्डस्ट्री, अप्टिमाइजेसन अफ सेक्युरिटी र डाइभर्सिफिकेसनजस्ता योजना अगाडि बढाउने भएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको