
हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि हुने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ८ः३० बजे राखिएको क्यापिटलले जनाएको छ।
कम्पनीले १०० अंकित दरका कुल १९ लाख ६८ हजार २५० कित्ता आईपीओ जारी गरेको थियो। जसमा पहिलो चरणमा ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेकोमा २ लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २५० कित्ता पनि जोडिएको थियो।
कुल कित्तामध्ये ३९ हजार ३६५ कित्ता (२ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ९८ हजार ४१३ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ। बाँकी १८ लाख ३० हजार ४७२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
कम्पनीले गत असार १५ गतेदेखि असार १९ गतेसम्म आईपीओ बिक्री गरेको थियो।
यो आईपीओमा १६ लाख ३ हजार ९७५ आवेदकबाट कुल १ करोड ७९ लाख ७ हजार १९४० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ९.७८ गुणा बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनैमध्ये भाग्यमानी २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।