
हिमालयन हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले १०० अंकित दरका कुल १९ लाख ६८ हजार २५० कित्ता आईपीओ जारी गरेको हो। जसमा पहिलो चरणमा ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेकोमा २ लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २५० कित्ता पनि जोडिएको छ।
निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि आवेदन दिन सक्नेछन्।
निष्काशन बन्द छिटोमा असार १९ गते हुनेछ भने ढिलोमा असार २९ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।