नेप्से परिसूचक ११.८२ अंक घटेर १९२१.३१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२२ अंक, फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंक घटेको छ।
नेप्से घटेसँगै कारोबार रकम पनि हिजोको तुलनामा घटेर १ अर्ब रुपैयाँ बढीको मात्रै भएको छ। । यस दिन २३० स्टकको २३ हजार १३३ पटकको कारोबारमा १ अर्ब ५ करोड ८२ लाख ६३ हजार रुपैयाँ बराबरको ३० लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। आज जीवन बीमा समूह १.०३ प्रतिशतले बढ्दा बैंक समूहमा ०.०२ प्रतिशतको बढोत्तरी भएको छ भने जलविद्युत समूह सर्वाधिक १.६९ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह १.६५ प्रतिशतले घट्दा व्यापार समूहमा ०.६५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७१ प्रतिशत, विकास बैंक समूहमा १.३५ प्रतिशत, वित्त समूहमा १.५७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०१ प्रतिशत, अन्य समूहमा ०.९७ प्रतिशत, लघुवित्त समूहमा ०.९३ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.४४ प्रतिशतको गिरावट आएको छ।
कारोबार रकमका आधारमा यस दिन एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ७ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र नागरिक लगानी कोषको ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
आज सिवाईसी लघुवित्तको सेयरभाउ १० प्रतिशतको हाराहारीमा पोजिटिभ सर्किट लागेको छ भने जनरल इन्स्योरेन्स र युनाइटेड इदी मर्दीको सेयरमूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।