नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का भएको छ । नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्सको कारोबार रोक्का भएको हो ।
दुवै कम्पनीले आइतबार मर्जरमा जानको लागि सम्झौता गरेसंगै नेप्सेमा कारोबार रोक्का भएको हो । आइतबार होटल यक एण्ड यतिमा आयोजित एक कार्यक्रममा मर्जर सम्बन्धी सम्झौता पत्रमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् । स्वाप रेसियो भने डीडीएपछि तय हुने छ ।
बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरूले न्युनतम चुक्ता पूँजी ५ अर्ब रूपैयाँ पुर्याउनु पर्नेछ ।
हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ । एक बराबर एककाे अनुपातमा मर्जर भए मर्जर पश्चत बन्ने कम्पनीकाे चुक्ता पूँजी ४ अर्ब ६२ कराेड रूपैयाँ पुग्नेछ ।