
निरन्तर ओरालो लागेको सेयर बजार साताको पहिलो दिन आइतबार भने दोहोरो अंकको उछाल आएको छ । कारोबारको सुरुदेखि नै बढ्न थालेको बजारले अन्तिम समयसम्म निरन्तरता पाएको छ ।
यो दिन बजार ९४.९२ अंकले बढेर परिसूचक १९५६.९८ बिन्दुमा रोकिएको छ । कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १७.९३ अंकले बढेर ३८२.८४ बिन्दुमा रोकिएको छ ।
नेप्से उच्च अंकले बढेसँगै यस दिन २२३ स्टकको मूल्य बढेको छ। जसमध्ये ३ दर्जनभन्दा बढी स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सोमध्य पनि २१ स्टकको मूल्य १० प्रतिशत बढेको छ। यस दिन ५ स्टकको मात्र मूल्य घटेको छ। जसमध्ये ४ वटा ऋणपत्र रहेका छन् भने एक म्युचुअल फण्ड रहेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो स्टकको यस दिन ८ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी र ङादी ग्रुप पावरको ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यस दिन नबिल बैंकको ६ करोड ७६ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक ८.८७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ८.३० प्रतिशत बढेको छ। कारोबारमा आएका वित्त, जलविद्युत, अन्य र व्यापार उपसमूहको परिसूचक ७ प्रतिशतभन्दा बढी बढेको छ भने लघुवित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।