साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ।
बजार आज ३७.२७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३४.११ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.२९ अंकले घटेर ३७३.८५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ।
आज नेप्से सूचकसँगै सबै उपसमुहको परिसूचक पनि आरोलो लागेको छ । सबै भन्दा धेरै हाइड्रोपावर उपसमुहको सूचक ३.८५ प्रतिशतले घटेको छ । यस्तै फाइनान्स उपसमुहको सूचक ३.५९ प्रतिशत र म्युचुअल फण्ड उपसमुहको सूचक पनि ३.१० प्रतिशतले घटेको छ ।
उत्पादन तथा प्रशोधन उपसमुहको सूचक भने सबै भन्दा कम ०.६८ प्रतिशतले घटेको छ ।
उच्च अंकले घटेको बजारमा आँधीखोला लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढ्दा प्रभु लाइफ इन्स्योरेन्स र सिवाईसी नेपालको शेयर मूल्य पनि ४ प्रतिशतले बढेको छ ।
यता रिभर फल्स पावरको शेयरमूल्य भने नकारात्मक सर्किट लभेलमा कारोबार भएको छ । कारोबारमा आएको केहि दिनमै कम्पनी शेयर मूल्य १० प्रतिशतले घटेको हो ।
कारोबार रकमको आधारमा नेपाल टेलिकम शिर्ष स्थानमा रहेको छ । यस दिन टेलिकमको १० करोड २८ लाख रपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै एनसीसी बैंक, सेन्चुरी कर्मशियल र नविल बैंकको पनि ४ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।