प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि असार १३ गतेदेखि आईपीओ निष्काशन गर्दै रसुवागढी हाइड्रोपावर

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले स्थानीयका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ बिक्री खुला गर्नेछ। यो आईपीओमा आयोजनाबाट अतिप्रभावित क्षेत्र गोसाइँकुण्ड वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरु (वडा नं. ३ बृद्धिम, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेसी र वडा नं. ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरु)ले आवेदन दिन सक्नेछन् ।

बिक्री खुला गरिएको कुल १० प्रतिशत सेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाका लागि क्रमशः ४.५ः१.५ः१ अनुपातमा बाँडफाँड गरिने कम्पनीले जनाएको छ।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ७०० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

निष्काशन बन्द छिटोमा असार २७ गते हुनेछ भने ढिलोमा साउन १० गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेका छन्। सो आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ७०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको