कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालिन हुने कुमारी धनवृद्धि योजनाका इकाइहरु शुक्रबार बिहान बाँडफाँड गरिएको छ ।कुमारी क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा जारी गरिएको यो योजनाका इकाइहरु कुमारी क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो।
यस योजनामा आवेदन दिने १ लाख ३९ हजार १३९मध्ये रितपूर्वक आवेदन दिने १ लाख ३९ हजार ९३ जना आवेदकलाई माग गरेबमोजिम इकाइहरु बाँडफाँड गरिएको छ। दोहोरा आवेदन दिने ४६ जना आवेदकको आवेदन रद्द गरिएको क्यापिटलले जनाएको छ।
बाँडफाँड गर्दा इकाइ १०० देखि १ करोडसम्म आवेदन गर्ने आवेदकहरुले मागबमोजिम नै इकाइ बाँडफाँड क्यापिटलले जनाएको छ। यो योजना इकाइ गत जेठ १२ देखि जेठ २६ गतेसम्म बिक्री खुला गरिएको थियो।
मागभन्दा अधिक दरखास्त पर्न आएकोले सामूहिक लगानी कोष निर्देशिका २०६९ को दफा १५(४) मा र विवरण पुस्तिकाको बुँदा ४ २(घ) मा भएको व्यवस्था अनुसार अधिकतम २५ प्रतिशत थप गर्न सक्ने प्रावधानअनुसार कोषको इकाइ १२ करोड २५ लाख ७ हजार २५९ इकाई बाँडफाँड गर्न सकिने मध्ये राख्नुपर्ने १५ (पन्ध्र) प्रतिशत बिजपूँजीबापतको १ करोड ८३ लाख ७६ हजार ८९ इकाइ कोष प्रवर्द्धक कुमारी बैंकलाई बाँडफाँड गरिएको र बाँकी रहेको १० करोड ४१ लाख ३१ हजार १७० इकाइ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।