बुक बिल्डिङ्ग प्रक्रियाबाट आईपीओ जारी गर्न सर्वोत्तम सिमेन्टले बोलायो ‘रोड सो’

सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत धितोपत्रको सार्वजनिक निष्काशनका लागि आशय मूल्य प्राप्त गर्न ‘रोड सो’ अर्थात छलफल कार्यक्रम डाकेको छ।

कम्पनीले यही असार १९ गते रोड शो आयोजना गर्ने निर्णय गरेको छ। कार्यक्रम काठमाण्डौको लाजिम्पाटस्थित र्याडिसन होटेलमा दिउँसो ३ः१५ बाट सुरु हुनेछ। सो कार्यक्रममा नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृत प्राप्त संस्थाहरुले सहभागिता जनाउन सक्नेछन् ।

योग्य संस्थागत लगानीकर्ताले खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, आशय मूल्य तथा मूल्याङ्कनको विधि सहित प्रारम्भिक विवरणपत्रमा सुझाव भएमा सो सहित उपस्थित हुन कम्पनीले अनुरोध गरेको छ।

कार्यक्रममा कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गराई बुक बिल्डिङ निर्देशिका, २०७७ को दफा (८)को व्यवस्थाअनुरुप आशय मूल्य (योग्य संस्थागत लगानीकर्ताले खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, आशय मूल्य तथा मूल्यांकनको विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव भएमा सोसमेत) प्राप्त गर्नेछ । इच्छुक स्वीकृति प्राप्त संस्थालाई रोड शो कार्यक्रममा सहभागी हुन कम्पनीले आग्रह गरेको छ।

छलफलमा उपस्थित हुन इच्छुक संस्थाहरुले प्रारम्भिक विवरणपत्र (धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम (५) बमोजिमको विवरण, निष्कासन गरिने धितोपत्रको संख्या, धितोपत्रको अनुमानित मूल्य, मूल्यांकनका आधार र औचितसमेत) र संस्थाको ३ वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण ल्याउनुपर्नेछ।

कम्पनीले बुक बिल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ। आईपीओ निष्कासनको विशेष प्रस्ताव कम्पनीको गत वर्ष माघमा सम्पन्न तेस्रो वार्षिक साधारणसभाले पारित गरेको थियो।

कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सहनिष्कासन तथा बिक्री प्रबन्धकहरुमा एनआइबिएल एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको