कन्याम, इलाम । भुइँकुहिरोले छपक्क छोपेको चियाबारीमा चिसो सिरेटो आइरहेको थियो । एकैनासका चिया बोटको मनमोहक दृष्य । सडकको दुई किनारका चियाका थुम्काथुम्कीमा बसौं–बसौं लाग्थ्यो । कन्याममा विभिन्न जातिको पहिरनमा फोटो खिच्ने, घोडाको सवारी गर्नेहरूको भिड थियो । डोेको बोकेर हरियोपत्ता टिपिरहेका मजदुरहरु डाँडाभरी लस्करै थिए । इलामको यो चियाबारीमा सरकारी र स्थानीयहरुको खेती गरिरहेका छन् ।
कन्यामको चिया बगान छिचोल्दै १५/२० मिनेटको दूरी पार गरेपछि पुगिन्छ चिया खेती गर्ने किसानको घर । प्रत्येक घरका आगनमा चियाका पत्ती सुकाएको देखिन्छ । टिनले छाएको २ तले चिया उद्योगमा आफ्नो काममा व्यवस्त थिए छत्र घले र खेम कुमारी घले । घले दम्पती चियामा लागेको ४० वर्ष भयो ।
सूर्योदय नगरपालिका–७ गोगने, इलामका छत्र घलेको परिवारसँग मनग्गे जग्गा जमिन थियो । छत्रका बुवाले ८ सय रोपनी जग्गा २०२८ सालमा ८ सय रूपैयाँमा बेचे । उनीहरूको जग्गा त्यति बेला सरकारले किन्यो । घले परिवारसँग किनेको ८ सय रोपनी जग्गामा सरकारले चिया लगायो । आफ्नै जग्गामा सरकारले चिया खेती शुरू गरेपछि घलेका बुवा त्यहाँ काम माग्न गए । तर, त्यहाँका इञ्जिनियरले उनका बुवालाई रित्तो हात फर्काए ।
जागिर पाइन्छ भन्ने सपना बनाएर त्यहाँ पुगेका घलेका बुवा चिया खेती गर्ने सल्लाहा लिएर घर फर्के । ‘हामी तिमीलाई जागिर दिन्नौँ । बाँकी भएको आफ्नै जग्गामा आफैले चिया खेती गर,’ ती इञ्जिनियरले छत्रका बुवालाई भनेका थिए । आफैले बेचेको जग्गामा सरकारले चिया रोपेर हराभरा बनायो । जागिर नपाएका छत्रका बुवाले निधो गरे, ‘मेरो बाँकी जग्गामा म पनि चिया रोप्छु ।’
पहिलो पटक रोपेको ४ वर्षमा चिया टिप्ने हुन्छ । हुर्केका बोटबाट वर्षमा ८ पटकसम्म टिप्न मिल्छ । धान खेतीभन्दा चियाबाट आम्दानी हुने भए पछि अरूकै सल्लाहमा चिया खेती गर्ने निर्णयमा पुगे ।सरकारलाई बेचेर बचेको सानो टुक्रा जग्गामा घले परिवारले २०३८ सालमा चिया रोपे । १ लाख रूपैयाँ लगानी लाग्यो । आधुनिक प्रणाली थिएन । चिया प्रशोधनका लागि मेसिन थिएनन् । उनीहरूले हातैले हरियो चिया माँडेर बिक्री गर्न थाले ।
किसानहरूले आफ्नै घरेलु विधि अपनाएर चिया बनाउथे र आफैले नामाकरण गर्थे । हातले माडेर बनाउने भएकाले चियाको नाम राखे ‘हाते चिया’ । चियाका पत्तीलाई हातैले माडेर घाममा सुकाउँथे । कालो बनाउन आगोको प्रयोग गर्थे । यो विधि अपनाएर तयार भएको चियालाई ‘हातेपत्ती’ भनिन्थ्यो ।
अरू किसानले जस्तै घले परिवारले पनि हरियो चिया बेच्न थाले । घोडामा चिया लिएर टाढा टाढा पुग्थे । मिरिक लगेर केजीको १ रुपैयाँ २५ पैसामा बेच्थे । काठमाडौंसम्म पनि पुर्याएको उनी बताउँछन् । चिसो ठाउँ । धान रोप्दा वर्षमा दुई पटक मात्रै उब्जनी हुन्थ्यो । त्यो पनि थोरै फल्ने । चियाले भने धेरै प्रतिफल दिन्छ भने तर परम्परागत विधि भएकाले सोचे जस्तो भएन ।
खेती त गर्ने तर लगानी आफूसँग थिएन । त्योबेला चिया खेती गर्ने किसानलाई कृषि विकास बैंकले १६ हजार रूपैयाँ ऋण दिन्थ्यो । उनले पनि त्यही ऋण लिए । ऋण समयमै तिर्न सकेनन् । १६ हजार रूपैयाँ कर्जा २०४५ सालमा ६५ हजार रूपैयाँ पुग्यो । पुरानो विधि भएकाले चियाबाट राम्रो प्रतिफल आउन सकेको थिएन ।
२०४४ सालमा पहिलो पटक कन्याममा चिया फ्याक्ट्री स्थापना भयो । कृषि विकास बैंकले ७ रूपैयाँ केजीमा चिया किनिदियो । ‘ब्याज पनि कटाई दिन्छौं, ऋण तिर्नुस्,’ बैंकले भन्यो । त्यसपछि कन्याममा स्थापना भएको फ्याक्ट्रीमा उनीहरूले चिया बेच्न थाले । २०६२/६३ सालसम्म पनि घले परिवारमा चिया प्रशोधन गर्ने र बिक्री गर्ने परम्परागत विधिमा परिवर्तन आएन । जसको पछाडिको कारण थियो चियालाई प्रशोधन गर्ने मेसिन नेपालमा नहुनु ।
देशमा २०६२/६३ मा चलेको जनआन्दोलनमा चिया बिक्री भएन । जनआन्दोलनका कारणले चिया नबिकेपछि छत्र आधुनिक रूपमा चियालाई कसरी प्रशेधन गर्न सकिन्छ भनेर खोजी गर्न थाले । लामो समयसम्म परम्परागत रूपमा नै खेती गर्दै आएको भए पनि छत्रले चियाका बारेमा धेरै थोर ज्ञान बटुलिसेका थिए ।
व्यवसायलाई अझै थप व्यवस्थित बनाउन उनले २०६८ सालमा ‘कन्याम भ्याली लघु चिया उद्योग’ दर्ता गरे । चिया खेती गरेको ३० वर्षपछि छत्रले अझै व्यवसायिक रूपमा खेती गर्ने योजना बुनिरहेका थिए । ७ लाख रूपैयाँ लगानी गरेर उद्योग दर्ता गरे । ‘परम्परागत विधि अपनाएर खेती गर्नुपर्ने बाध्यता थियो,’ छत्रले भने, ‘जसले गर्दा व्यापार हुँदैन थियो ।’
चियालाई व्यवस्थित रूपमा प्रशोधन गर्नका लागि उनी तल्लिन थिए । उनले २०६९ सालमा चिनियाँहरूले मेसिनबाट चियालाई प्रशोधन गरिरहेको भिडियो इन्टरनेटमा देखे । ‘वान टी वान फार्मर’ भन्ने भिडियो थियो । चियालाई व्यवस्थित रूपमा अघि बढाउने लक्ष्य लिएका घलेलाई चिनियाहरूले प्रयोग गरेको जस्तै मेसिन प्रयोग गर्ने इच्छा जाग्यो । जुन मेसिनको खोजीमा उनले कयौं मान्छे भेटे ।
उक्त मेसिन कसरी नेपाल ल्याउने भनेर प्रयास गरिरहे । काठमाडौंमा धेरै मान्छेलाई भेटे । छत्रले २०७३ सालमा बल्लतल्ल मेसिन भेट्याए । १४ लाखमा २ वटा मेसिन किने । केही समयपछि ती मेसिन साथीलाई बेचेर १ करोड ७० लाख पर्ने नयाँ मेसिन भित्र्याए । रोलिङ, ग्रेडिङ र ड्राई गर्ने मेसिनहरु थिए । चीनबाट चिया प्रशोधन मेसिन झिकाउन पनि सफल भए । लगानीको लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका थिए ।
मासिक साढे ३ लाखसम्मको कारोबार
२०४८ सालमा चिया खेती गर्न शुरू गरेका छत्रको आधुनिक मेसिन ल्याएपछि व्यवसाय राम्रो हुँदै गयो ।अहिले चिया व्यवसायमा पूर्णरुपमा समर्पित छन् । परिवार पाल्ने, छोराछोरीलाई उच्च शिक्षा दिने र केही बचत यसैबाट गरेका छन् ।
रोलिङ, ग्रेडिङ र ड्राई गर्ने मेसिन लिएपछि चियालाई प्रशोधन गर्न सहज भएको छ । ग्राहकको अर्डर बमोजिम चियाको प्रकार बन्न थालेको छ ।छत्रले उत्पादन गरेको चिया नेपाल हुँदै सिलगुढी, कलकत्तासम्म पुग्छ । उद्योगमा ५ जना कर्मचारीलाई जागिर दिएका छन् । व्यवसाय बढाउँदै अहिले झन्डै ७० रोपनीमा चिया खेती गरिरहेका छन् ।
साथै, उनले ३८ घले परिवारको सबै चिया किनिदिन्छन् । सहकारीको पनि किन्छन् । उनी ‘चियाको पहिलो निजी किसान’ भनेर परिचित छन् । चियाको मूल्य गुणस्तरका आधारमा हुन्छ । चिया टिप्ने बेलामा नै त्यसका लागि ध्यान दिनुपर्छ । छत्रको उद्योगबाट बनेका चियाले बजारमा प्रतिकेजी ३०० देखि १२ हजार रूपैयाँसम्मको भाउ पाउँछन् ।
ह्वाइट टी, ग्रीन टि, गोल्डेन टी, सिल्भर टी र ब्ल्याक टिलगायतका चियाका प्रकार हुने छत्र बताउँछन् । कालो चिया प्रकृतिमा भएको कुरा नष्ट गरेर बनाइन्छ । सेतो चिया प्रकृतिमा भएका कुरालाई बचाएर बनाइने चिया हो । मकै पोलेर खाए जस्तै विधि अपनाएर तयारी गरिने चियाको प्रकार हो ‘ग्रीन टी’ ।
गोल्डेन टी प्रशोधन गर्ने तरीका फरक छ । यसको मूल्य प्रतिकेजी १० हजार रूपैयाँसम्म पर्ने छत्र बताउँछन् । ‘ग्रीन टी हामीले खाने पोलेको हरियो मकै जस्तै हुन्छ,’ छत्रले भने, ‘गोल्डेन टी र रेड टीलाई स-साना मुनाबाट तयार पारिन्छ ।’ उनका अनुसार सिल्भर टी चियाका प्रकारमध्ये महङ्गो पर्ने चिया हो । सिल्भर टी चियाको डाँठबाट तयार पारिन्छ । यसको मूल्य नेपालमा प्रतिकेजी १० हजार रुपैयाँसम्म पर्छ ।
चियाको विभिन्न प्रकारमध्येको अर्को प्रकार हो सीटीसी चिया । यस्तो चिया अरु सबै प्रकारको चिया बनेपछि मात्रै तयार पारिन्छ । जसलाई पिसेर बनाइन्छ । यी चियाका प्रकार माग अनुसार बनाउने गरिएको छत्र बताउँछन् । माग अनुसार ५ केजी १० केजी विदेश जान्छन् । जसका लागि भने सीएफएल बनाएर स्याम्पल पिसहरु पनि भन्सारमा पेश गर्नुपर्छ ।
भन्सारले स्वीकृत गरेपछि एक वर्षभरिका लागि चिया निर्यात गर्न मिल्छ । अर्को वर्ष पुनः सोही प्रक्रिया अपनाउनु पर्छ । विशेषगरी घलेको उद्योगबाट उत्पादन भएका चियाका प्रकारहरू सिलगुडी र कोलकत्ताका बजारमा पुग्छन् ।
सुरक्षाका लागि चियाको बीमा
छत्रले चिया र उद्योगको सुरक्षाका लागि बीमासमेत गरेका छन् । सिद्धार्थ बैंकबाट ऋण लिँदा बीमा गरिदिएको छ । छत्रलाई वित्तीय सहयोग लघुवित्तले पनि सहयोग गरेको छ । उनले निर्धन उत्थान लघुवित्तबाट पनि कर्जा लिएका छन् । वाणिज्य बैंकको तुलनामा लघुवित्तले दिने कर्जाको प्रक्रिया सरल र छिटो भएको उनको अनुभव छ । त्यही कारणले ब्याज धेरै भए पनि कर्जा लिन उनी लघुवित्त नै पुग्छन् ।
‘लघुवित्तको पैसा गोजीमा बोके जस्तो लाग्छ । आज माग्दा आजै दिन्छन्,’ छत्र आफ्नो अनुभव सुनाउँछन्, ‘वाणिज्य बैंकको भन्दा कर्जा लिने प्रक्रिया पनि सजिलो छ ।’ घले दम्पतीले छोराछोरीलाई अध्ययनका लागि सहरमा राखेका छन् । चियाको उद्योग घलेका श्रीमान, श्रीमती मिलेर सम्हाल्छन् । छत्र मार्केटिङमा जान्छन् । छत्रकी श्रीमती खेमकुमारी फ्याक्ट्री सम्हाल्छिन् ।
छत्र चियाको विज्ञ जस्तै भएका छन् । ‘काम गर्दै जाँदा मिलेको अध्ययन हो,’ उनी भन्छन्, ‘काम गर्दै जाँदा अनुसन्धान गर्न रहर जाग्छ । त्यसैले चिया बारे धेरथोर जान्ने भएको छु ।’
छत्रका चिया बगानमा विभिन्न देशका विभिन्न जातका चिया छन् । भारतको गुम्ती ठाउँबाट आएका चिया, टिस्टा भ्याल्ली, कम्बोडियन जातलगायतका अन्य जातका चिया पनि लगाएका छन् । चिया प्रशोधनका लागि आधुनिक प्रणालीका मेसिन भित्र्याएपछि व्यापार राम्रो भएको छत्र बताउँछन् । गाउँमा चिया प्रशोधन मेसिन भित्रिएपछि अरु चिया किसानालाई पनि सहज भएको छ ।
गाउँका चिया किसानले आजकल हात्तेपत्ती चिया बेच्न एकदिनको बाटो हिँड्नु पर्दैन । चिया कालो बनाउन आगोको सहायता लिनु पर्दैन । मेसिन ल्याएपछि गाउँका चिया किसानलाई पनि केही सहजता थपिएको महसुस गर्छन् छत्र । चियामा करोडौं लगानी गरेका छत्र भन्छन्, ‘चियाले नै यहाँ ल्याइपुर्याएको छ । अझै अनुसन्धान गरेर अघि बढ्ने चाहना छ ।’
साभार: CLICKMANDU