संयुक्त उर्जा लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्रति कित्ता रु.१०० अंकित दरका ४१ लाख ६० हजार कित्ता सेयर जारी गर्न लागेको हो। यस अनुसार निष्काशन हुने सेयरको कुल मूल्य रु. ४१ करोड ६० लाख बराबर रहनेछ।
यस सम्बन्धमा कम्पनीले बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। आज सम्पन्न भएको सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र संयुक्त उर्जा लिमिटेडका प्रबन्ध सञ्चालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका छन्।
संयुक्त उर्जा लिमिटेडले म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ मा रहेको २१।३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजना निर्माण कार्य पूरा गरी उत्पादन सुरु गरिसकेको छ। आयोजना हाल व्यापारिक रूपमा सञ्चालनमा आइसकेकाले कम्पनीको नगद प्रवाह र आय स्रोत स्थिर रहेको बताइएको छ।
यो आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणलाई बिक्री भइरहेको छ। यसले कम्पनीलाई दिगो आयको आधार प्रदान गर्ने भएकाले आईपीओप्रति लगानीकर्ताको आकर्षण बढ्ने अनुमान गरिएको छ।
कम्पनीले शेयर निष्काशनपछि पुँजी संरचना थप सुदृढ हुने, आयोजनाबाट आय आर्जनमा निरन्तरता आउने र लगानीकर्ताहरूले दीर्घकालीन लाभ पाउने विश्वास व्यक्त गरेको छ। निष्काशन प्रक्रियासम्बन्धी विस्तृत जानकारी भने नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त भएपछि सार्वजनिक गरिनेछ।

