पाथीभरा देवी दर्शन केबलकार कम्पनीले ताप्लेजुङस्थित पाथीभरामा निर्माणाधीन केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ ।
गत साता काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारसँग सबन्धित स्थानीयका सरोकारका केही विषयमा पहिचानका लागि युवालगायत विभिन्न स्थानीय संघ/संस्थाले वार्ता तथा छलफलबाट समाधान निकाल्ने र परियोजना निर्माणमा सहज वातावरण बनाउन सम्बद्ध सबै पक्षसँग आग्रह गरिएकामा कम्पनीले त्यसलाई सकारात्मक रुपमा लिएको कम्पनीले जनाएको छ ।
सधैं स्थानीयका माग र सरोकारलाई उच्च सम्मान गर्दै आएको र स्थानीय धर्म, संस्कृति, पहिचान र सभ्यताको जगेर्ना गर्दै त्यसको प्रवर्द्धन गर्न कम्पनीको सहयोग रहने कम्पनीकाे प्रतिबद्धता छ ।
परियोजना निर्माणका लागि आवश्यक सरकारी मापदण्डअनुसार वातावणीय प्रभाव मूल्यांकनलगायत सम्पूर्ण सरकारी प्रक्रिया पूरा गरेर परियोजना निर्माणका क्रममा रहेको कम्पनीले सोमबार जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । कम्पनीले स्थानीय कला, संस्कृति, पहिचान र धार्मिक परम्पराबमोजिम परियोजना निर्माण गर्ने र आवश्यकताअनुसार स्थानीय जनप्रतिनिधि तथा सबै सरोकारवालासँग वार्ता, छलफल तथा समन्वय गरी अगाडि बढ्ने जानकारी गराएको छ ।
‘हामीलाई विश्वास छ वार्ता तथा संवादबाट जुनसुकै समस्याको पनि समाधान निस्कन सक्छ । हामी केबलकार निर्माणमा देखिएका विषयलाई लिएर पहिचानका लागि स्थानीय युवाले वार्ता र संवादका लागि गरेको आग्रहलाई सकारात्मक रुपमा लिन्छौं । यस विषयमा वार्ता तथा संवादमा बस्न तयार छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

