काठमाडौं — फुड फर लाइफ नेपालले आज एक भव्य वाकाथन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवसको अवसरमा बुढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा आयोजित यस वाकाथनको उद्देश्य स्वास्थ्य तथा पोषणप्रति जनचेतना अभिवृद्धि गर्नु र सामाजिक सेवा प्रवर्द्धन गर्नु रहेको थियो। कार्यक्रममा विभिन्न उमेर समूहका करिब ६० भन्दा बढी सहभागीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
वाकाथन कार्यक्रम बिहान ७ बजे बुढानीलकण्ठ नगरपालिकाको प्राङ्गण, गोल्फुटारबाट सुरु भई हरेकृष्णधाम, बुढानीलकण्ठसम्म पुगेर समापन गरिएको थियो। सहभागीहरूले स्वस्थ जीवनशैलीको महत्त्वका विषयमा प्रकाश पार्दै, हरेकृष्णधामको अवलोकन, मन्दिर दर्शन तथा गुरुजनहरूसँग प्रवचन श्रवण गरेका थिए।
फुड फर लाइफ नेपालले सम्पूर्ण सहभागीहरूलाई भोजन प्रदान गर्नुका साथै सम्मानपत्रसमेत वितरण गरेको थियो। कार्यक्रममा सहभागीहरूको सक्रियता र ऊर्जा उल्लेखनीय रहेको आयोजकहरूले बताएका छन्।
फुड फर लाइफ नेपालका कार्यकारी प्रबन्धक सरोज आचार्यले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण सहभागीहरू, स्वयंसेवकहरू र साझेदार संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले भविष्यमा अझ बढी यस्ता सकारात्मक र जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। वाकाथन कार्यक्रमले स्वस्थ जीवनशैली र सामाजिक उत्तरदायित्वप्रति जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास फुड फर लाइफ परिवारले व्यक्त गरेको छ।
फुड फर लाइफ नेपालले बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा दैनिक १० हजार भन्दा बढी बालबालिकाहरुलाई दिवा खाजा वितरणजस्ता सामाजिक सेवाका कार्यहरू पनि निरन्तर सञ्चालन गरिरहेको छ।

