साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक २.६७ प्रतिशत अर्थात ७५.२४ अंकले बढेर २ हजार ८९०.२८ विन्दुमा पुगेको छ ।
आज बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०८ प्रतिशतले बढेर ४८४.३० विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर १४ अर्ब २५ करोड ४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि उच्च बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ११ अर्ब ३९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०२ स्टकको १ लाख ३९ हजार ५९६ पटकको कारोबारमा १४ अर्ब २५ करोड ४ लाख ७५ हजार रुपैयाँबराबरको २ करोड ९१ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आजको कारोबार रकम पछिल्लो ६ महिनायताकै उच्च हो। यस अघि गत भदौ ११ गते नेप्सेमा यस दिनको भन्दा बढी कारोबार भएको थियो। सो दिन बजारमा १८ अर्ब ६४ करोडको शेयर खरिदबिक्री भएको थियो।
आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा हरियाली छायो ।
आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ४.७९ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज २.२३ प्रतिशत, विकास बैंक ३.८८, फाइनान्स ४.२८, होटल ४.१४, हाईड्रो १.९८,लगानी ३.०३, जीवन बीमा ४.३१,लघुवित्त १.३५,निर्जीवन बीमा ३.४१, अन्य १.५१ र व्यापार समूह १.०६ प्रतिशतले बढ्यो ।
आज म्युचुअल फण्ड समूह मात्रै घट्यो । यो समूह आज १.२७ प्रतिशतले घट्यो ।
आज ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिमालयन डिष्टिलरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, न्यादी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। समाज लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
आज कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ९७ करोड ५३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको करिब ८६ करोडको शेयर खरिदबिक्री भएको छ भने सिन्धु विकास बैंकको ४० करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ।

