ग्लोबल आईएमई बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस शेयर वितरण पश्चात कायम हुने पुँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रूपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रूपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रूपैयाँ पुग्नेछ ।
साधारणसभामा अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण परिपालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए ।
साथै, बैंकले आफ्नो व्यावसायिक रणनीतिक योजनाअन्तर्गत नयाँ व्यवसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको उनको भनाइ छ ।

