१५ जडीबुटी चीन निर्यातका लागि प्रारम्भिक प्रक्रिया शुरू

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जाँदा नेपालका १५ प्रकारका जडीबुटी चीनले आयात गर्ने भने पनि ती जडीबुटी हालसम्म नेपालबाट निर्यात हुन सकेको छैन । सरकारी अधिकारीका अनुसार नेपाली जडीबुटी चीन निकासीका लागि अहिले चिनियाँ क्वारेन्टाइन मापदण्ड पूरा गर्ने गरी काम अघि बढिरहेको छ । चिनियाँ प्रतिनिधिसमेत यहाँ आएर नेपाली जडीबुटी आयात गर्न योग्य छ/छैन अध्ययन गरेको उनीहरूले जानकारी दिए । चीन जडीबुटीको सबैभन्दा ठूलो उत्पादक र निर्यातक देश हो ।

२०८० असोज पहिलो साता भएको तत्कालीन प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा जडीबुटी निर्यातका लागि दुई देशले फाइटोसेनेटरी प्रोटोकलमा हस्ताक्षर गरेका थिए ।

नेपालबाट चीनमा कृषि र औषधिजन्य जडीबुटी निर्यातका लागि क्वारेन्टाइनसम्बन्धी प्रतिबन्धहरू प्रमुख अवरोधका रूपमा देखा परेकाले अहिले तिनै प्रोटोकल पूरा गर्ने गरी काम अगाडि बढाइएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटाले बताए ।

उनका अनुसार नेपालबाट निर्यात हुने जडीबुटी रोग तथा कीरामुक्त हुनुपर्छ । साथै चीनको जैविक सुरक्षा कानून, पशु तथा वनस्पतिजन्य वस्तुको प्रवेश तथा बहिर्गमनका लागि तय भएको क्वारेन्टाइन कानून र खाद्य सुरक्षा कानूनले तय गरेका व्यवस्था पालना गर्नुपर्ने छ । चीनको कानूनअनुसार नेपाली जडीबुटी आयातयोग्य छ कि छैन भन्ने जाँच गर्न केही महीनाअघि चीनबाट पाँचओटा अध्ययन टोली नेपाल आएर अध्ययन गर्नुका साथै नेपाली पक्षलाई अभिमुखीकरण तालिम दिएको उनले बताए ।

‘यहाँको जडीबुटी चिनियाँ प्रोटोकलअनुसार छ भनेर प्रमाणित गर्न थप केही अध्ययन र सर्वे गर्नुपर्ने भएकाले चिनियाँ टोली फेरि नेपाल आउनुपर्छ । उक्त टोलीले सबै कुरा अध्ययन गरेर प्रमाणित गरिसकेपछि मात्रै नेपाली जडीबुटी चीन निर्यात गर्न सकिन्छ,’ उनले भने । नेपालबाट सीमित मात्रामा कीटनाशक औषधीय बिरुवा भने चीन जाने गरेको वाणिज्य मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जानकारी दिएको छ । नेपालबाट चीनमा हेलेज घाँस निर्यात गरेपछिको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा सरकारले यसलाई हेरेको छ । गतवर्ष असारमा नेपालले पहिलोपटक चीनमा हेलेज जातको प्रशोधित घाँस निर्यात गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको