कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख दिने घोषणा गरेको छ । विराटनगरका किङ्सका खेलाडीलाई मङ्गलवार राती बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)कोलागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदै छ । बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले टोलीलाई जितको शुभकामना दिंदै खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताए । उनले क्रिकेटबाट राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने उल्लेख गरे । ‘खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सहयोग गर्न सरकार तयार रहेको छ, मुख्यमन्त्री कार्कीले भने, आगामी दिनमा खेलकुदको विकासकालागि थप योजनाहरू अघि सारिनेछ ।’
विराटनगर किङ्सका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले नेपाल प्रिमियर लिगमा आक्रामक खेलको प्रस्तुति दिने बताए । प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने छ ।