एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।
बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र सो मा लाग्ने कर प्रयोजनका लागि ०.२३६२ प्रतिशत नगद लाभांश गरी कुल ५.२३६२ प्रतिशत लाभांश घोषणा गरेको छ । यस्तै बैठकले बोनस सेयर वितरणपश्चात शतप्रतिशत अनुपातमा हकप्रद सेयर जारी निर्णय समेत गरेको छ ।
कम्पनीले लाभांश र हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभाको मिति समेत तय गरेको छ । कम्पनीले आगामी पुस १२ गते काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।