अलैंचीको मूल्य प्रतिमन ९२ हजार रुपैयाँ

पूर्वी पहाडका किसानको मुख्य आम्दानीको स्रोत तथा कालो सुनको रूपमा परिचित अलैंचीको मूल्य यस वर्ष सिजनको शुरुआतदेखि नै बढ्दो क्रममा देखिएको छ ।

नेपाल अलैंची व्यवसायी महासंघका अनुसार अलैंचीको मूल्य प्रतिमन (४० किलो) को ९२ हजार रुपैयाँ पुगेको छ । महासंघका अनुसार प्रतिमन अलैंचीको मूल्य पोहोरको तुलनामा यस वर्ष ५७ हजार रुपैयाँले बढेको छ । गतवर्ष जेजे (१ नम्बर) अलैंचीको बजार मूल्य प्रतिमन ३५ हजार रुपैयाँ तोकिएको थियो । महासंघले उत्पादनमा गिरावट आउँदा मूल्य बढेको बताएको छ ।

एसडी (२ नम्बर) अलैंचीको मूल्य पोहोर मनको ३३ हजार रुपैयाँ थियो । यस वर्ष बढेर ९० हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी चलनचल्ती वा ३ नम्बर अलैंचीको मूल्य पोहोरको प्रतिमन ३१ हजारबाट बढेर ८८ हजार रुपैयाँ पुगेको छ ।

महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले गतवर्ष पानी कम परेको र रोगकीराले आक्रमण गर्दा अलैंची उत्पादनमा कमी आएको बताए । उनका अनुसार पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको प्रत्यक्ष असर अलैंची बालीमा परिरहेको छ । गतवर्षको तुलनामा यस वर्ष अलैंची उत्पादन ५० प्रतिशतले घटेको ढुंगानाले बताए ।

‘गतवर्ष ५ हजार ५०० मेट्रिक टन अलैंची उत्पादन भएकोमा यस वर्ष करीब २ हजार ७०० मेट्रिक टन मात्रै उत्पादन भएको छ,’ उनले भने, ‘मूल्य बढ्नु किसानका लागि खुशीको कुरा हो । गतवर्ष मूल्य कम भएका कारण कतिपय किसानले मौज्दात गरेर राखेका थिए । अहिले त्यही अलैंची निकालेर बेच्दा उनीहरूले राम्रो नाफा कमाएका छन् ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा देशभर करीब १६ हजार हेक्टरमा अलैंची खेती भएको थियो । त्यस वर्ष ८ हजार ६०० मेट्रिक टन अलैंची फलेको थियो । हरेक वर्ष मूल्यमा हुने उतारचढाव र रोग कीराको प्रकोपले गर्दा किसानमा पछिल्लो समय अलैंची खेतीप्रतिको निराशा बढ्दै गएको महासंघले बताएको छ ।

कति उचाइमा कस्तो अलैंची उत्पादन हुन्छ, कुन रोगलाई कस्तो उपचार गर्ने भन्ने विषयमा किसानलाई पर्याप्त मात्रामा जानकारी दिने प्राविधिकको अभावसमेतले गर्दा उत्पादन घट्दै गएको महासंघका उपाध्यक्ष सुवास भट्टराईले बताए । उनका अनुसार जलवायु परिवर्तनका कारण माटोमा अम्लीयपन बढ्दै जाँदा उत्पादनमा नकारात्मक असर परेको छ । यसबारे पर्याप्त अध्ययन, अनुसन्धान हुन जरुरी छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आवको पहिलो ३ महीनामा नेपालबाट १ अर्ब २६ करोड २१ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । गतवर्ष सोही अवधिमा १ अर्ब ८९ करोड रुपैयाँको अलैंची निर्यात भएको थियो ।

नेपाली व्यवसायीले भारत, बंगलादेश र खाडी मुलुकमा अलैंची निर्यात गर्छन् । दुई वर्षअघि नेपालले खाडी मुलुकहरूबाट ती मुलुकमा अलैंची निर्यात गर्न पाउने प्रमाणपत्र पाएको थियो । कतारलगायत खाडी मुलुकले आफ्नो देशको मापदण्डअनुसार उत्पादन भएका खाद्यवस्तुलाई अग्र्यानिक दर्ता दिन्छन् । त्यही मापदण्डअनुरूप नेपालले ती मुलुकमा अलैंची निर्यात गर्न हलाल प्रमाणपत्र पाएको थियो । त्यसपछि नेपालले ती मुलुकमा पनि अलैंची निर्यात गर्न थालेको भट्टराई बताउँछन् । बजार विस्तार भइरहेका बेला उत्पादन उद्घाटनमा आएको गिरावटले व्यवसायी चिन्तित भएको उनको भनाइ छ ।

उनका अनुसार पछिल्लो समय आन्तरिक बजारमा अलैंचीको खपत बढाउन तेल उत्पादन गर्न, विभिन्न किसिमका मसला बनाउन र चियाको रूपमा समेत प्रयोग गर्न थालिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको