चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड ७९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा २२ दशमलव ९८ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ८ करोड ८२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले खुद नाफामा असर परेको देखिन्छ । गत वर्ष ४ करोड ८९ लाख रुपैयाँभन्दा बढी रहेको इम्परमेन्ट चार्ज रकम यस वर्ष १३ करोड २४ लाख रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीको सञ्चालन नाफा पनि यस वर्ष २२ दशमलव ९९ प्रतिशत घटेको छ । गत वर्ष १२ करोड ६० लाख रुपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा यस वर्ष ९ करोड ७१ लाख रुपैयाँभन्दा बढी मात्र भएको हो ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड ६१ लाख ९६ हजार रुपैयाँ छ ।
रिटर्न अर्निग ४१ करोड ९ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकममा १ अर्ब ५९ करोड ५९ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । ११ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ९ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ५ दशमलव १४ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ९ दशमलव शून्य १ प्रतिशत कायम भएको छ । यस वर्ष कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत वर्ष २२ रुपैयाँ ७६ पैसा रहेको प्रतिशेयर आम्दानी यस वर्ष १५ रुपैयाँ ९४ पैसामा झरेको हो । त्यस्तै गत वर्ष २२१ रुपैयाँ १६ पैसा रहेको प्रतिशेयर नेटवर्थ यस वर्ष २१७ रुपैयाँ ६२ पैसा कायम भएको छ ।