ह्यारिसले दिइन् ट्रम्पलाई बधाई

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बाइडन प्रशासन र डोनाल्ड ट्रम्पबीच शान्तिपूर्ण ढङ्गले सत्ता हस्तान्तरण गर्न आफूले सघाउने बताएकी छन्। वासिङट्न डीसीमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले चुनावको परिणामलाई स्वीकार गरेपनि ‘चुनावी अभियानलाई बल दिएको लडाइँप्रति हार नमान्ने’ बताइन।

उनले आफूले सबै मानिसहरूको स्वतन्त्रता, अवसर, सम्मान र समानताको लागि लडिरहने पनि धारणा राखेकी थिइन्। यसअघि ह्यारिस र राष्ट्रपति बाइडेनले राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पलाई टेलिफोन गरेर निर्णायक जितका लागि बधाई दिएका थिए। ट्रम्पको अभियानले संयुक्त राज्य अमेरिकालाई एकताबद्ध बनाउनुको महत्त्वबारे ह्यारिससँग पूर्व राष्ट्रपति सहमत रहेको जनाएको छ।

ह्यारिसको सम्बोधन

चुनावमा पराजित भएपछि उपराष्ट्रपति ह्यारिसले वासिङ्टनस्थित आफू अध्ययन गरेको हाउअर्ड विश्वविद्यालयमा एउटा भावपूर्ण सम्बोधन गरेकी थिइन्। उनले समर्थकहरूलाई अमेरिकाको ‘उज्ज्वल भविष्यका लागि लड्न नछाड्न’ अनुरोध गरेकी थिइन्। उनको अभियानकातर्फबाट समर्थकहरूलाई पठाइएको इमेलमा पनि त्यसमा जोड दिइएको छ।

चुनावको परिणाम आफूहरूले चाहेको जस्तो नआएको उल्लेख गरेकी उनले भनिन्, “जबसम्म हामीले हार मान्दैनौँ र लडाइ जारी राख्नेछौँ, अमेरिकाप्रतिको आशाको ज्योति सधैँ उज्यालो बल्नेछ।”

“म यो चुनावमा हार स्वीकार गर्छु तर यो अभियानलाई बल दिएको लडाईँमा हार मान्दिनँ।”

अब कमला ह्यारिसको भविष्य के हुन्छ?

बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्करका अनुसार जो बाइडनको बाँकी कार्यकालसम्म कमला ह्यारिस अमेरिकी उपराष्ट्रपति रहनेछिन्। राष्ट्रपति-निर्वाचित ट्रम्प र उनका उपराष्ट्रपति भान्सलाई २० ज्यानुअरीमा सत्ता हस्तान्तरण गरिनेछ।

राष्ट्रपति-निर्वाचित ट्रम्प र भान्सले पदभार ग्रहण गरे लगत्तै बाइडन र ह्यारिस दुवैको अमेरिकी सरकारमा कुनै राजनीतिक जिम्मेवारी हुनेछैन।

“र यूकेको राजनीतिको जस्तो यहाँ विपक्षी दलको नेताको पद छैन्, ह्यारिस त्यस्तो जिम्मेवारीमा हुने छैनन्। तर अरू क्षेत्रबाट उनलाई प्रस्तावहरू आउन सक्छ।”

-बिबिसी नेपालीबाट

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको