कतारका लगानीकर्ताले श्रमिक गन्तव्यको रूपमा मात्रै नभई नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । उनीहरूले नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक तथा वित्तीय संस्था सम्बद्ध सेवाहरू, जलविद्युत, पर्यटनलगायत क्षेत्रमा रूचि देखाएका हुन् ।
यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन,’ कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भने, हामी थप लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्ने छौं ।’
नेपाल–कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरीय बैठकमा अध्यक्ष थानी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवं प्रतिनिधिमण्डलबीच बुधबार कतारको राजधानी दोहामा सम्पन्न बैठकमा आर्थिक सम्बन्ध विस्तारका विषयमा छलफल भएको हो ।
कतारका अमीर सेख तमीम बिन हमाद अल थानीको गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो ।
काउन्सिलको पहिलो अध्यक्षस्तरीय बैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आ–आफ्नो नेतृत्वमा सदस्य नियुक्तगरी काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ । त्यसलगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राखे । आगामी वर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि बैठकमा भएको हो ।
बैठकमा अध्यक्ष ढकालले नेपालमा वाह्य क्षेत्रमा स्थायित्व रहेको र कानुनहरूमा गरिएको सुधारले लगानीको अवसर जुट्दै गएको बताए । साथै उनले कतारका लगानीकर्ताहरूलाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप विकासलगायत क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आह्वान गरेका छन् ।