अपि पावरको साधारण सभा र बुक क्लोज मिति स्थगित

अपि पावर कम्पनी लिमिटेडले साधारण सभा र बुक क्लोज मिति स्थगित गरेको छ । कम्पनीले कात्तिक १ गते बिहीबारका दिन काठमाण्डौको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा आयोजना हुने तय भएको २१ औं साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।

कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो ।

कम्पनीले गत आव २०८०/८१ को खुद मुनाफा तथा सेयर प्रिमियमबाट कायम रहेको चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ०.७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश घोषणा गरेको थियो । तर नियामक निकाय विद्युत नियमन आयोगले उक्त लाभांश वितरण गर्न नमिल्ने जनाएको थियो । आयोगले कम्पनीले अवास्तविक नाफा देखाएर बोनस सेयर वितरण गर्न खोजेको र हिसाबकिताबमा कैफियत देखिएको भन्दै प्रस्तावित लाभांश वितरण गर्न रोक लगाएको थियो ।

कम्पनीले आयोगको उक्त निर्णयको पुनरावलोकनको लागि आवश्यक थप कागजातहरु सहित असोज १० गते गते विद्युत नियमन आयोगमा निवेदन दिएको थियो ।

असोज १५ गते बसेको कम्पनीको सञ्चालक समितिको निर्णयानुसार विद्युत नियमन आयोगमा अपि पावर कम्पनी लिमिटेडले पेश गरेको आवेदन विचाराधीन अवस्थामा रहेको तथा कम्पनीले २१ औं वार्षिक साधारण सभामा प्रस्ताव गरेको बोनस सेयर र मूल्य समायोजन प्रक्रियामा असर पर्ने देखिएकोले लाभांश वितरणको विषयमा विद्युत नियमन आयोगबाट उक्त निर्णयको पुनरावलोकन भई निर्णय प्राप्त नभएसम्मका लागि कम्पनीको साधारण सभा र सेयर दर्ता किताब बन्द हुने मिति हाललाई स्थगित गरिएको कम्पनीले जनाएको छ ।

साथै, विद्युत नियमन आयोगबाट पुनरावलोकन भई निर्णय जारी भएपश्चात् अर्को सुचना जारी गरी कम्पनीकोको स्थगित २१ औं वार्षिक साधारणसभा तथा सेयर दर्ता किताब बन्द हुने मिति पुनः तय गरिने कम्पनीले उल्लेख गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको