प्रधानमन्त्री आज स्वदेश फर्कदै, आजै मन्त्रिपरिषद बैठक

संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार साँझ नेपाल फर्कने भएका छन्। अमेरिकाको बोस्टनबाट कतार प्रस्थान भईसकेको र आजै अपरान्ह चार बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजै ५ बजेको लागि मन्त्रिपरिषदको बैठक डाकिएको सरकारका प्रवक्ता तथा सूचना संचार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जनाएका छन्। आज ५ बजेको मन्त्रिपरिषदको बैठकबाट बाढी पहिरो पिडितको लागि केहि महत्त्वपूर्ण निर्णय हुन सक्ने प्रवक्ता गुरुङको भनाई छ।

संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागी हुन प्रधानमन्त्री ओली यहि असोज ४ गते अमेरिका गएका थिए। प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेका थिए। भने यसबीच प्रधानमन्त्री ओलीले दर्जनौं मुलुकका राष्ट्र प्रमुख तथा प्रतिनिधिहरुसंग वार्ता तथा भेटघाट गरेका थिए।

प्रधानमन्त्री ओली अमेरिका भ्रमणमै रहेका बेला दुई दिने लामो अविरल वर्षाका कारण नेपालमा ठुलो मात्रामा धनजनको क्षति भएको छ। असोज १४ गतेसम्म बाढी पहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या १९३ पुगेको छ भने ३० जना भन्दा बढी वेपत्ता रहेका छन्। त्यस्तै ४५०० बढीलाई उद्दार गरिएको छ। नेपालमा विपदको बेलामा भ्रमण छोट्याएर न आएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना पनि भएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको