
एनसेल फाउन्डेसनले प्रदेशस्तरमा सञ्चालित सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अन्तर्गत झापाको बिर्तामोड नगरपालिका, वडा नं. ५ मा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको सम्पन्न गरेको छ ।
निःशुल्क शिविरमा १२० जना भन्दा बढी स्थानीय महिलाहरूको सहभागिता थियो । त्यसमध्ये ९० जना भन्दा बढिले निःशुल्क ‘पाप स्मियर टेस्ट’बाट लाभ लिएको फाउन्डेसनले जनाएको छ ।
नेपाल क्यान्सर फाउन्डेसन र पूर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउन्डेसनले आयोजनामा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविर सञ्चालन गरिएको थियो ।
शिविरले महिलाहरूलाई स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारण गर्न तथा स्वास्थ्य सेवा लिनुको महत्त्व बुझाएको फाउन्डेसनको भनाइ छ । पाठेघरको मुखको क्यान्सरबाट बच्न प्रारम्भिक पहिचान र रोकथामको लागि नियमित स्क्यानिङ जस्ता परीक्षणहरू गर्न प्रोत्साहन गरेको छ ।
एनसेल फाउन्डेसनले कोशी प्रदेशमा ६ हजारभन्दा बढी महिलाहरूको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ । एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले यो स्क्रिनिङ पहुँच नभएकाहरूसम्म पुग्ने लक्ष्य रहेको बताइन । पाठेघरको मुखको क्यान्सर रोकथाम, स्क्रिनिङ र उपचारमा पहुँच नहुँदा कम र निम्न मध्यम आय भएका महिलाहरूमा मृत्यु समेत हुने गरेको बताइन् ।
‘पाठेघरको मुखको क्यान्सर सबैभन्दा सामान्य र नेपाली महिलाहरूको मृत्युको प्रमुख कारण रहेको तथ्यांकले देखाउँछ । ८० प्रतिशत भन्दा बढि पाठेघरको मुखको क्यान्सरका रोगीहरूले अन्तिममा आएर मात्र रोग लागेको थाहा पाउँछन्,’ खड्काले भनिन्, ‘कोशी प्रदेशमा शुरु भएको यस पाइलट प्रोजेक्टको सफलता पछि आगामी दिनमा अन्य प्रदेशमा पनि विस्तार गर्ने छौँ ।’
एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनको घोषणा गरेको थियो र फाउन्डेसनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरू गर्ने योजना बनाएको छ । एक जिम्मेवार कर्पोरेट संस्थाका रुपमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा रु २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ ।