अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेञ्ज पुगेर पछिल्लो समय बजार घट्नुको कारण खोजेका छन्। उनले ३००० पुगेको नेप्से अहिले २५०० मा झरेको भन्दै त्यसको कारण खोजी गरेका हुन्।
उनले नेप्सेका अधिकारीहरुलाई केही गलत तत्वले फैलाएको अफवाहको पछि लगानीकर्ता दौड्दा बजारमा कुनै कारण बिना नै गिरावट देखिएको बताए ।
अर्थमन्त्रीले फेसबुक, क्लबहाउस लगायतका सामाजिक सञ्जालमा गैरकानूनी ढंगले बजारलाई नकारात्मक प्रभाव पार्न र लगानीकर्ताको मनोबल गिराउन सक्रिय पात्र तथा समूहहरुलाई कडा कारवाही गर्ने चेतावनि समेत दिए । पौडेलले लगानीकर्तालाई कसैले उक्साएको भरमा भन्दा आफैले कम्पनीको वित्तीय अवस्था अध्ययन गरी सेयर खरिद बिक्रीको निर्णय लिने बानीको विकास गर्न समेत आह्वान गरेका छन् ।
‘नेप्सेले पनि सामाजिक सञ्जालमा हुने यस्ता गतिविधिप्रति चासो बढाउनु पर्छ, ’ पौडललले भने,‘देशको अर्थतन्त्र र प्रमुख सूचकहरु सबै सकारात्मक हुँदाहुँदै बजार यसरी घटाइनु प्राकृतिक छैन । यसमा सरकारले छानबिन गर्नेछ ।
सो क्रममा पौडेलले नेप्सेको पुनर्संचरना हुने र आईपीओ समेत जारी हुने संकेत गरेका थिए । करिब ३० मिेनट नेप्सेका कर्मचारीहरुलाई सम्बोधन गरेको अर्थमन्त्री सेयर कारोबारको लाइभ हेर्न भन्दै नेप्से छिरेका थिए । पौने ३ बजे त्यहाँ पुगेको उनलाई करिब १५ मिनेट सेयर कारोबारको लाभई देखाइएको थियो । कुनै पूर्व निर्धारित कार्यक्रम बिना अर्थमन्त्री नेप्से पुग्नुलाई कर्मचारीहरुले लगानीकर्ताको घट्दो मनोबल उकास्ने रणनीतिको रुपमा ब्याख्या गरेका छन् ।

