हिमालयन उर्जाको १४ लाख ४६ हजारभन्दा बढी कित्ता हकप्रद शेयर विकेन

हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्दा १४ लाख ४६ हजार ३५९ कित्ता शेयर भने विक्री हुन नसकेको बताएको छ । कम्पनीले बुधवार हकप्रद शेयर बाँडफाँटको सूचना जारी गर्दै ९९ लाख कित्ता हकप्रद शेयर विक्री खुला गर्दा ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद शेयर मात्र वितरण भएको जानकारी दिएको हो ।

कम्पनीले असार १९ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिशेयर १०० रुपैयाँ  अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर साउन २९ गतेदेखि भदौ १२ गतेसम्म विक्री गरेको थियो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ३१ हजार ५८३ जना शेयरधनीहरूमा भदौ २५ गते हकप्रद शेयर बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको हो । हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम भदौ २८ गतेदेखि आवेदकहरूको बैंक खातामै फिर्ता भुक्तानी गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

कम्पनीले पहिलो चरणमा विक्री गर्न नसकेको १४ लाख ४६ हजारभन्दा बढी कित्ता शेयर भने लिलामी प्रक्रियाबाट विक्री गर्नेछ । सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९८ करोड रूपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

यस कम्पनीले दुई आयोजनाहरूबाट विद्युत विक्री गरिरहेको छ । कम्पनीले रामेछाप जिल्लामा ७ मेगावाट क्षमताको अपर खिम्ती जलविद्युत आयोजना र १२ मेगावाट क्षमताको उपल्लो खिम्ती जलविद्युत आयोजनाबाट विद्युत विक्री आम्दानी गर्दै आएको हो । हकप्रद शेयर निष्कासनबाट संकलित पूँजी कम्पनीले विभिन्न बैंकबाट लिएको दीर्घकालिक ऋणको भुक्तानी गर्ने बताएको छ ।

कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ७ गते अनुमति पाएको थियो भने हकप्रद शेयर निष्कासन प्रयोजनका लागि असार २० गते एक दिन बुक क्लोज गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको