मंगलवार नेप्से परिसूचसँगै कारोबार रकममा पनि घटेको छ । नेप्से परिसूचक १३ दशमलव ०९ अंक घटेर २ हजार ६३२ दशमलव ९४ विन्दुमा झरेको हो ।
अघिल्लो कारोबार दिन रू. ९ अर्ब ४३ करोड बराबरको कारोबार भएकोमा आज रू. ७ अर्ब २४ करोडमा झरेको छ । बजार घटिरहदा तल्लो मूल्यमा विक्री गर्न नचाहेको ,खरीदकर्ता पनि अन्योलको कारण अहिलेको मूल्यमा खरीद गर्न राजी नभएकाले र लगानीकर्ताको सक्रियता कम भएकोले पनि कारोबार केही घटेको देखियो ।
अब लाभांशको सिजन पनि सुरु हुन थालेको छ । अब धमाधम सूचीकृत कम्पनीहरुले लाभांश प्रस्ताव गर्न थालेका छन् । सोही कारण अहिले शेयरधनी हुनेले छोटो समयमै लाभांशको हकदार बन्न सक्नेछन् । यस कारण पनि अव विस्तारै शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकरहरु बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३८ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ५० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४० प्रतिशत घटेको छ ।
३२८ धितोपत्रको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ९३ हजार ४५९ पटकमा रू. ७ अर्ब २४ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ९०३ पुगेको हो । त्यस्तै दोस्रोमा थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९० प्रतिशत बढेर रू.१ हजार ५५ कायम भएको छ ।
मंगलवार सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाई मूल्य ८ दशमलव ८२ प्रतिशत घटेको छ । इकाई मूल्य रू. ९ दशमलव २० मा झरेको हो । त्यस्तै दोस्रोमा स्वरोजगार लघुवित्त वित्तीय सस्थाको शेयर मूल्य ५ दशमलव ९१ प्रतिशत घटेर रू. १ हजार ३५ मा झरेको छ ।
सर्वाधिक शेयर खरीदविक्री हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको रू. २९ करोड ८१ लाख बराबरको संस्थापक शेयरको भएको हो ।त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको रू. २१ करोड ७३ लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ब्यापार समूहको सूचक शून्य दशमलव ७९ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन समूहको सूचक स्थिर रहेको छ । बाँकी सबै समूहगत सूचक घटेका हुन । सबैभन्दा बढी वित्त समूहको सूचक शून्य दशमलव ९९ प्रतिशत घटेको छ ।

