ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या

धनुषाको ढल्केबर सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युतआपूर्ति प्रभावित भएको छ।

ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मंगलबार बेलुकाबाट एउटामा समस्या आएको छ। दुई वटा ट्रान्सफर्मरबाट करिब ९० एमभिए भार (लोड) आपूर्ति भइरहेकोमा एउटामा समस्या आएपछि ३० एमभिए लोड काटिएको छ।

यसले गर्दा उक्त सबस्टेसनबाट आपूर्ति भइरहेका धनुषाको जनकपुरधाम, यदुकुवा, धनुषाधाम, सखुवा, महोत्तरीको जलेश्वर, गौशाला, बर्दिबास, सिन्धुलीको भिमानलगायतका क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको हो।

प्राधिकरण मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले ट्रान्सफर्मर बिग्रिएका कारण प्रभावित भएको विद्युत् आपूर्तिलाई नियमित गर्न भारतको सुरसण्डबाट ३३ केभी प्रसारण लाइनबाट विद्युत् ल्याउन लागिएको बताए।

सुरसण्ड–जलेश्वर लाइन नचलेको धेरै भएकाले अहिले लाइनको मार्गधिकारमा पर्ने रूखविरूवा काट्न थालिएको र शुक्रबारसम्म लाइन चालू गरी विद्युत् ल्याउने प्रयास भइरहेको ठाकुरले उल्लेख बताए ।

प्राधिकरणको ढल्केबर ग्रिड महाशाखाका प्रमुख विनोद लोहनीले ट्रान्सफर्मरमा देखिएको समस्या समाधानका लागि उत्पादक कम्पनीसँग कुरा भइरहेको बताए।

उनले भने,‘निरन्तर पानी परिरहेकाले ट्रान्सफर्मर खोल्न समस्या भइरहेको छ, फल्ट पत्ता लागेमा एक दिनमै मर्मत हुनसक्छ नत्र अर्को ट्रान्सफर्मर ल्याएर जडान गर्नुपर्ने भएमा १० देखि १५ दिनसम्म लाग्न सक्छ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको