खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिकलाई सहजरूपमा शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले अगाडि बढाएको योजनालाई पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
हाल बन्द गरिएको मेलम्ची खानेपानी आयोजनालाई आगामी असोजको पहिलो सातादेखि पुनः सञ्चालनमा ल्याई काठमाडौंवासीलाई खानेपानी सुविधा उपलब्ध गराउने उनले बताए ।
मौसममा सुधार आउनेबित्तिकै सो आयोजनाको सुरुङमा पानी पठाइने उनको भनाइ छ । मेलम्ची खानेपानी आयोजनाको पानी नियमित उपलब्ध हुन नसक्दा वैकल्पिक उपाय अवलम्बन गरेर काठमाडौंवासीलाई खानेपानी उपलब्ध गराइएको उनले बताए ।
मेलम्ची खानेपानी आयोजनाको बाँधस्थललाई सुरक्षित बनाइ नियमितरूपमा खानेपानी उपलब्ध गराउन सरकारले आवश्यक कार्यक्रम अगाडि बढाइएको उनले जानकारी दिए । तराई–मधेशमा डिप बोरिङमार्फत खानेपानी उपलब्ध गराइएको भए पनि पछिल्ला दिनमा पानीको स्रोत सुकेका कारण केही समस्या पैदा भएको उनको भनाइ छ ।
अधुरा खानेपानी आयोजना समयमै सम्पन्न गराउन मन्त्रालयले आवश्यक पहल गरिरहेको र आवश्यक बजेट उपलब्ध गराउन अर्थमन्त्रालयलाई आग्रह गरिएको उनले बताए ।
सरकारको स्पष्ट निर्देशन भएपनि विभिन्न मन्त्रालयका फाइल कर्मचारी प्रशासनले अड्काएर राखेका कारण कतिपय आयोजना कार्यान्वयनमा समस्या पैदा भएको खानेपानीमन्त्री यादवको भनाइ छ । रासस

