
साताको अन्तिम कारोबार दिन नेप्से ६ दशमलव ७० अंक बढेर बन्द भएको छ । यससँगै नेप्से परिसूचक २ हजार ७६६ दशमलव ३८ विन्दुमा पुगेको हो । आज लगानीकर्ताको आकर्षण उत्पादन तथा प्रशोधन समूहको शेयरमा परेको छ । यस समूहका अधिकांश कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ ।
आज बजारमा तीव्र उताबचढाव देखियो । ‘इन्ट्राडे’मा नेप्से २ हजार ८११ दशमलव १५ विन्दुसम्म पुगेको थियो । तर, उक्त विन्दुमा टिक्न भने सकेन ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०४ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव १८ प्रतिशत वृद्धि भएको छ भने सेक्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ०८ प्रतिशत घटेको छ ।
३२२ धितोपत्रको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर २ लाख ९ हजार ९६५ पटकमा रू. २० अर्बभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये ६ धितोपत्रको मूल्यमा १० प्रतिशतका दरले वृद्धि भएको छ । कर्णाली डेभलपमेन्ट बैंक, शिवम सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र सर्वोत्तम सिमेन्टको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो ।
आज सबैभन्दा बढी एनआरएन एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्टका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८ दशमलव ०४ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९९९ दशमलव ६० मा झरेको छ । त्यस्तै १० प्रतिशत सानिमा बैंक लिमिटेड डिबेञ्चर २०८५ नामक ऋणपत्रको मूल्य ७ दशमलव ६९ प्रतिशत घटेर रू. १ हजार ४४ कायम भएको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा शिवम् सिमेन्टले ओगटेको छ । यस कम्पनीको रू. १ अर्ब २० करोडभन्दा बढीको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७०१ दशमलव ८० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा हिमालयन रिइन्स्योरेन्स कम्पनी छ । कम्पनीको रू. १ अर्ब ७ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ६ समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी ५ दशमलव ८७ प्रतिशत वृद्धि भएको छ भने होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी १ दशमलव २७ प्रतिशत घटेको छ ।