पिपुल्स इनर्जी लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट सैद्धान्तिक स्वीकृति प्राप्त गरेसँगै बोर्डमा निवेदन दर्ता गराएको जानकारी दिएको हो । कम्पनीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार विद्युत नियमन आयोगबाट साउन २२ गते सैद्धान्तिक पाएसँगै बोर्डमा निवेदन दिइएको हो । बोर्डले भने कम्पनीको आईपीओ निष्कासनका लागि दिइएको आवेदन आफ्नो वेवसाइटमा राखिसकेको छैन् ।
कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आइपीओ निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो । कम्पनीको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ भने शेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।
कम्पनीले दोलखा र रामेछापको सीमा नदी खिम्ती खोलामा ४८ दशमलव ८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । २०८१ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाका हेडवक्र्स, इन्टेक, सुरुङ्, विद्युत गृहलगायत संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी कम्पनीले दिएको छ ।
हाल आयोजनाको हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण जडान कार्य जारी छ । आयोजनाबाट उत्पादित विद्युत गर्ज्याङ्ग–खिम्ती शवस्टेशनमा चार्ज गर्ने गरी भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) १ सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको काम समेत जारी रहेको कम्पनीको भनाई छ । निर्माणधिन खिम्ती–२ जलविद्युत आयोजनाको हालसम्म ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको कम्पनीले प्रष्ट पारेको छ ।

