
मंगलबार सेयर बजारमा हालसम्मकै उच्च कारोबारसहित उच्च अंकको करेक्सन आएको छ। आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा हालसम्मकै उच्च रकम बराबरको शेयर कारोबार भएको छ ।
आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा ३२२ स्टकको २ लाख ७१ हजार ५८७ पटकको कारोबारमा २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यस अघि गत साताको साउन १६ गते नेप्सेको भोल्यूमले नयाँ रेकर्ड बनाएको थियो। सो दिन नेप्सेमा २१ अर्ब ९१ करोडको शेयर कारोबार भएको थियो। सो दिनको कारोबार रकम आज नेप्से तोडेको छ ।
नेप्से परिसूचक ५.१८ प्रतिशत अर्थात १४५.०५ अंक घटेर २६५१.३२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २७.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ९.९१ अंक घटेको छ।
नेप्से उच्च अंक घटेपनि आज थ्रिस्टार हाइड्रोपावर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ६८ रुपैयाँ ६० पैसा बढेर ७५४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
आज नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, शुभम पावर, हाथवे इन्भेष्टमेन्ट र ओरियन्टल होटलको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ४८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिईडिबी हाइड्रोपावरको ४३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक घटेका छन्। वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ८ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै लगानी र जीवन बीमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घटेको छ।