श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।
कम्पनीको गत साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले प्रिमियम मूल्य वा अंकित मूल्यमा आईपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको हो । सभा आगामी भदौ ४ गते काठमाडौंको नक्सालस्थित कम्पनीको कर्पोरेट कार्यालयमा बिहान साढे १० बजेदेखि शुरु हुनेछ।
सोही साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नेछ । यसैगरी, सभाले आईपीओ प्रिमियममा वा अंकित मूल्यमा ल्याउने भन्ने अधिकार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ ।त्यस्तै सभाले कम्पनीको अधिकृत पूँजी,जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
त्यस्तै सभाले सञ्चालक समितिको प्रस्तावबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
यो कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिवत् दर्ता भई सञ्चालनमा छ । सन् २०१७ देखि श्रीनगर एग्रिटेक इन्डस्ट्रिज प्रालिबाट आवश्यक पर्ने दाना तथा आहारको उत्पादनको कार्य शुरु गर्दै कम्पनीले रुपन्देहीमा दाना कारखाना, व्यावसायिक कृषि फार्म स्थापना गरेको छ र पाल्पाको तेल्घामा ब्रिडर फार्म सञ्चालनमा ल्याएको छ ।
कमपनीले यसअघि नै शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरिसकेको छ ।

