
साताको तेस्रो कारोबार दिन मंगलबार बजार बढेको छ । यो दिन ३५.५५ अंकले बजार बढेर २ हजार ६९६.६५ विन्दुमा बन्द पुगेको छ।
अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक २०.४६ अंकले घटेर २ हजार ६६१.९१ विन्दुमा बन्द भएको थियो । यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि३.२३ अंकले घटेर ४८५.३८विन्दुमा बन्द भएको छ ।यो दिन ३२९ कम्पनीको ४ करोड कित्ताभन्दा धेरै शेयर किनेबेच हुँदा १७ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार १९ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको थियो ।
सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रि-इन्स्योरेन्सको छ । उक्त कम्पनीको ६० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।त्यस्तै शिवम सिमेन्टको ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।यसैगरी, सोल्टी होटलको ३६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यो दिन शेयरबजारमा तिव्र उतारचढाव भएको देखिएको थियो । बजार खुलेपश्चात २ हजार ६०९ विन्दुसम्म झरेको नेप्से अन्तिम समयमा भने २ हजार ७०० विन्दुबाट माथि उकालो लागेको थियो ।तर अन्त्यमा आएर यो भन्दा तल आएर नै बन्द भएको छ ।
यो दिन लगानीकर्ताहरु बैंक छाडेर जलविद्युत र फाइनान्सतर्फ आकर्षित भएका छन् ।यो दिन आठ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
जसमा प्रोगेसिभ फाइनान्स, बरुण हाइड्रो पावर,सान्जेन जलविद्युत कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी, सीईडीबी हाइड्रो पावर कम्पनी, नेपाल फाइनान्स,मध्यभोटेकोशी जलविद्युत कम्पनी, हाथवे इन्भेष्टमेन्ट नेपाल छन् ।
त्यसैगरी, बढेको बजारमा एशियन हाइड्रो पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ।त्यस्तै गणपति लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई ब्यालेन्स फण्ड, एनआईसी एशिया डिबेन्चर, प्रभु बैंक डिबेन्चर शेयरमूल्य ३.९० देखि ६.११ प्रतिशतले घटेको छ ।
नेप्सेमा सूचीकृत १३ वटा उपसमूह मध्ये चार वटा समूहको सूचक घट्दा नौ वटा उपसमूहको सूचक बढेका छन् । अघिल्लो दिन वाणिज्य बैंक उपसमूहको शेयरमा लगानी खन्याएका लगानीकर्ताले आज जलविद्युततर्फ लगानी बढाएका छन् ।
त्यस्तै, यो दिन फाइनान्स समूहको ५.९८ प्रतिशतले बढेको छ । त्यस्तै होटल तथा पर्यटन समूह ५.९९ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत र लगानीगत समूहको सूचक ३ प्रतिशतले बढेको छ ।