
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार दुई वर्ष चल्ने बताएका छन् ।
मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आफू २ वर्ष पुग्नुभन्दा एक हप्ता अघि राजीनामा दिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर चुनावसम्म जाने बताए ।
गत असार १७ गते कांग्रेस र एमालेबीच ७ बुँदे सहमति हुँदा पहिलो २ वर्ष ओली र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष देउवा प्रधानमन्त्री बन्ने सहमति भएको थियो। त्यसतर्फ लक्षित गर्दै ओलीले उक्त सहमति पालनामा आफू प्रतिबद्ध रहेको बताएका हुन्।
साथै प्रधानमन्त्री ओलीले वर्तमान सरकार कहीँ कतै कुनै प्रकारको दाउपेचले नबनेको बताए।
‘कतै छिर्के लगाएर, के गरेर, केका लागि, यसो मन्त्री बनिहालौं, भनेर बनेको होइन, कर्तव्य बोध गरेर बनेको सरकार हो। ठूला पार्टीले बुझेर बनाएको सरकार हो। सरकार ढल्ने त के ढलपल पनि हुँदैन,’ उनले भने।