
साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको करेक्सन आएको छ । नेप्से परिसूचक ०.७६ प्रतिशत अर्थात २०.४६ अंकले घटेर २ हजार ६६१.०९ विन्दुमा कायम भएको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ४८२.१५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिनको उच्च वृद्धिपछि लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्सन भएको हो।
यसदिन कारोबार रकम ३६ महिनाकै उच्च भएको छ। आज १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसअघि २०७८ भदौ ३ गते बजारमा २० अर्ब ४९ करोड रूपैयाँको कारोबार भएको थियो।
बजार बढिरहेकाले नयाँ लगानीकर्ता भित्रिँदा र पुराना लगानीकर्ता आकर्षित हुँदा शेयर कारोबार बढेको जानकार बताउँछन् । यस्तै, बैंकहरूले सस्तो ब्याजदरमा शेयर कर्जा दिएकाले पनि कर्जा लिएर शेयर लगानी गर्नेहरू बढ्दा कारोबार रकम थप बढेको उनीहरूको भनाइ छ ।
मौद्रिक नीति, लचिलो, सहज र लगानीमैत्री आएको छ । संस्थागत लगानीकर्ताका कर्जामा २० करोडको सीमा हटाइएको छ । यस कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबै समूहमा रातो पोतिएको छ । आज वित्त समूह १.८८ प्रतिशत र हाईड्रो समूह ०.८१ प्रतिशतले बढ्यो ।
आज व्यापार समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ४.५४ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.०३ प्रतिशत, विकास बैंक २.६९ प्रतिशत,होटल ०.२९,लगानी ०.५९,जीवन बीमा १.९७, उत्पादन तथा प्रशोधन १.७३, लघुवित्त ३.७१,म्युचुअल फण्ड ०.६६, निर्जीवन बीमा १.०६ र अन्य समूह ०.०२ प्रतिशतले घट्यो ।
सोमबार नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.७७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन मन्दाकिनी हाइड्रोपावर र बाराही हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने जानकी फाइनान्स र गणपति लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ८.३५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन कुमारी बैंकको ५५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कारोबार रकम ३९ करोड नाघेको छ।