मौद्रिक नीतिपछिको पहिलो कारोबार दिनमा नेप्से परिसूचक ११३ अंक बढेको छ । योसँगै नेप्से परिसूचक २६८१ अंकमा कायम भएको छ । बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । पुन २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो । पुन ४० मिनेटपछि खुलेको बजार त्यसपछि सम्हालिएको थियो
आज बैंकिङ्ग उपसमूहको परिसूचकमा उछाल आएको छ । नेप्सेमा सूचीकृत सबै बैंकहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै बैंकिङ्ग उपसमूहको परिसूचक पनि उच्च दरमा बढेको हो। यस दिन १९ वाणिज्य बैंकहरुमध्ये १८ बैंकहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये १२ वटा समूहमा हरियाली छाएको छ । आज बैंकिङ समूहमा सर्वाधिक ९.८९ प्रतिशतले बढेर १ हजार ५७४ विन्दुमा पुग्यो । यस्तै आज विकास बैंक समूह ४.८७ प्रतिशत, वित्त १.२९ प्रतिशत, होटल ०.४६, हाईड्रो ०.८३, लगानी ५.७५,जीवन बीमा ४.२४, उत्पादन तथा प्रशोधन १.७२, म्युचुअल फण्ड १.३८ , निर्जीवन बीमा २.६८,अन्य ३.१९ र व्यापार समूह २.६२ प्रतिशतले बढ्यो ।
आज लघुवित्त उपसमूहको परिसूचक ०.१८ प्रतिशतले नकारात्मक भएको छ। यस दिन शेयरमूल्य घटेका शीर्ष १० कम्पनीहरुको सूचीमा ७ लघुवित्त कम्पनी रहेका छन्। जसमध्ये गणपति लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.३५ प्रतिशत घटेको छ।
नेप्सेको वृद्धिलाई यस दिन भोल्यूमले पनि साथ दिएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १४ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको १ लाख ६३ हजार ८१० पटकको कारोबारमा १५ अर्ब ८१ करोड ५ लाख रुपैयाँ बराबरको ४ करोड ३ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआईसी एशिया बैंकको करिब ३५ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्स र शिवम् सिमेन्ट्सको कारोबार रकम ३२ करोड नाघेको छ।