
साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ दशलमव २६ प्रतिशत बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ५६८ दशमलव ११ विन्दुमा पुगेको हो ।
अघिल्लो कारोबार दिन भने नेप्से परिसूचक करीब साढे २७ अंक घटेको थियो । छोटो समयमै उच्च अंकले बढेको बजारमा अल्पकालीन कारोबारीले प्रोफिट बुक गरेसँगै बुधवार बजारमा विक्री चाप परेको थियो ।
पूँजीबजारमैत्री मौद्रिक नीति आउने अपेक्षामा आज बजार बढेको लगानीकर्ता बताउँछन् । नेपाल राष्ट्र बैंकले भोलि (शुक्रवार) चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने सम्भावना छ ।
पूँजीबजार सुधारका लागि सरकारले प्रतिबद्धता जनाइसकेको छ । बजार सुधारका लागि प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म प्रतिबद्ध देखिएका छन् ।
यस दिन सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ५६ प्रतिशत, फ्लोट इन्डेक्स १ दशलमव ४३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव ८९ प्रतिशत वृद्धि भएको छ ।
३२० धितोपत्रको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर १ लाख ५९ हजार ७५७ पटकमा रू. १४ अर्ब १३ करोडभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ५९८ दशमलव २० पुगेको छ ।
शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा जीवन विकास लघुवित्त छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर रू. १ हजार ७१७ पुगेको छ ।
बिहीवार सबैभन्दा बढी मितेरी डेभलपमेन्ट बैंकका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ७ दशमलव ६५ प्रतिशत घटेको छ । यससँगै0 कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६४० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने कम्पनीको सूचीमा दोस्रोमा माण्डु हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ४ दशमलव ६८ प्रतिशत घटेर रू. १ हजार २२५ कायम भएको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले ओटगेको छ । यस कम्पनीको रू. ३४ करोड १७ लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७३५ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स छ । कम्पनीको रू. २४ करोड ६४ लाख बराबरको शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये चार समूहको सूचक घटेको छ भने बाँकी समूहको सूचक बढेको छ । तीमध्ये लघुवित्त समूहको सूचक सबैभन्दा बढी ६ दशमलव ८३ प्रतिशत वृद्धि भएको छ ।
यस समूहका कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । वित्तीय विवरणमा नाफा देखिएपछि लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएका हुन् ।
आज लगानी समूहको सूचक सबैभन्दा बढी शून्य दशलमव ७३ प्रतिशत घटेको छ ।