दुई जलविद्युत कम्पनीले हकप्रद शेयर विक्री गर्ने तयारी गरेका छन् । हिमालय उर्जा विकास कम्पनी र आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद विक्रीका लागि मिति तय गरिसकेका हुन । हिमालयन उर्जा विकास कम्पनीले साउन २४ गतेदखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो भने आँखुखोला जलविद्युत कम्पनीले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
पछिल्लो समय धितोपत्र बजार बढीरहेकाले यी कम्पनीको हकप्रद शेयरमा लगानीकर्ताको आकर्षण बढ्ने सम्भावना देखिन्छ । बजार घटेको अवस्थामा भने लगानीकर्ताले हकप्रद शेयर नकिनेको तथ्याङ्क छ । यस अघि रिडी पावर कम्पनीले गत फागुन १८ गतेदेखि चैत ८ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर विक्री गर्दा ११ लाख ३५ हजारभन्दा बढी कित्ता हकप्रद विक्री भएको थिएन । रिडी पावरले सो समयमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो । अवितरित हकप्रद शेयर कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गरेको थियो ।
यतिबेला भने धितोपत्र दोस्रो बजारमा लगानीकर्ता उत्साहित बनेसँगै बजार २ हजार ५०० विन्दुमा माथी रहेको छ । कम्पनीहरूले प्रतिकित्ता १०० रूपैयाँमा हकप्रद विक्री गर्न लागेकाले दोस्रो बजारमा सोभन्दा बढी मूल्य कायम कम्पनीको हकप्रद शेयर विक्री हुनेमा सम्बन्धित कम्पनीहरू विश्वस्त रहेका छन् । आँखुखोला जलविद्युत कम्पनीका सञ्चालक इन्द्रकृष्ण श्रेष्ठ कम्पनीको हकप्रद प्रति लगानीकर्ताको आकर्षण राम्रो रहने विश्वास व्यक्त गर्दछन् । हकप्रद शेयर सम्बन्धित कम्पनीको शेयरधनीहरूले मात्र खरीद गर्न पाउने भएकाले आगामी दिनमा कम्पनीको उदेश्य पुरा गर्न सहयोग मिल्ने गरी सबैलाई आफ्नो हकको हकप्रद खरीद गर्न श्रेष्ठले आग्रह गरेका छन् । हकप्रद प्रयोजनका लागि मूल्य समायोजन भएपछि पनि कम्पनीको शेयरमूल्य २०० रूपैयाँभन्दा बढी कायम रहेको अवस्थामा हकप्रद खरीदकर्तालाई जोखिम कम हुने विश्वास उनले लिएका छन् ।
आँखुखोला जलविद्युतले असार ३१ गतेसम्म कायम शेयरधनीहरूका लागि हाल कायम चुक्तापूँजी ८० करोड रूपयाँको आधारमा प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । १५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ कायम हुनेछ ।
आँखुखोला जलविद्युतले हकप्रद विक्रीबाट संकलित पूँजी गणेश हिमाल हाइड्रोपावर लिमिटेडले प्रबद्र्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला – २ जलविद्युत आयोजनामा ८० करोड रूपैयाँ लगानी गर्ने र बाँकी ४० करोड रूपैयाँ ऋणको आंशिक भुक्तानी गर्ने जानकारी सञ्चालक श्रेष्ठले दिएका छन् । आँखुखोला जलविद्युतले ८ दशमलव ४ मेगावाट क्षमताको आँखुखोला–१ जलविद्युत आयोजनको निर्माण सम्पन्न गरी २०७० साल भदौ ८ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिरहेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण आँखुखोला जलविद्युतले सार्वजनिक गरेको छैन् । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो कम्पनी २५ लाख ७२ हजार रूपैयाँभन्दा बढी नाफामा रहेको छ । उक्त अवधिसम्म कम्पनीको विद्युत विक्रीबाट १४ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेको थियो ।
त्यस्तै हिमालय उर्जा विकास कम्पनीले कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रूपैयाँको आधारमा ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले असार १९ गतेसम्म कायम शेयरधनीहरूका प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा शतप्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । धितोपत्र दोस्रो बजारमा यो कम्पनीको शेयरमूल्य पनि २०० रूपैयाँभन्दा बढीनै कायम छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९८ करोड रूपैयाँ कायम हुनेछ ।
हिमालय उर्जा विकास कम्पनीले आयोजना निर्माणका लागि विभिन्न बैंकबाट लिएको कर्जा भुक्तानी प्रयोजनका लागि शतप्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । हिमालयन उर्जाले दुई जलविद्युत आयोजनाहरूबाट विद्युत विक्री गरिरहेको छ । कम्पनीले रामेछाप जिल्लामा ७ मेगावाट क्षमताको अपर खिम्ती जलविद्युत आयोजना र १२ मेगावाट क्षमताको उपल्लो खिम्ती जलविद्युत आयोजनाबाट विद्युत विक्री आम्दानी गर्दै आएको हो । गत चौथो त्रैमाससम्मको वित्तीय विवरण हालसम्म सार्वजनिक नगरेको कम्पनीले गत वर्षको तेस्रो त्रैमाससम्म ११ करोड १५ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानी व्यहोरेको छ । उक्त अवधिसम्म कम्पनीले विद्युत विक्रीबाट १८ करोड ३१ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको थियो ।
यी दुबै कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । आँखुखोला जलविद्युतको हकप्रद शेयर खरीदका लागि भदौ १६ गतेसम्म र हिमालयन उर्जा विकास कम्पनीको हकप्रद शेयर खरीदका लागि भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ । साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।