ट्रष्ट माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ।
उक्त सभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने विशेष प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह वितरणलगायत सोही अवधिको वित्तीय विवरणहरुसहित अनुसूचीहरुउपर छलफल गरी पारित गरेको छ।
सभाले आव २०७९/८० का लागि सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्नुका साथै आव २०८०/८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
सभा कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।सभाले आगामी चार वर्षका लागि नयाँ बोर्ड चयनसमेत गरेको छ । जसअनुसार कम्पनीको अध्यक्षमा पुनः जगत बहादुर पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै सभाबाट अन्य सञ्चालक सदस्यहरुमा दिपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपाने निर्वाचित भएका छन् । यसैबीच कम्पनीले लुम्बिनी प्रदेशका ग्रामीण भेगका सर्वसाधारणलाई बीमाको पँहूचमा ल्याउने उद्धेश्यले घुम्ती बीमा सेवा शुरु गर्ने भएको छ ।
साधारण सभाको उद्घाटन पछि नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापा, कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेल र प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गानाले संयुक्त रुपमा बीमा घुम्ती सेवाका लागि ल्याइएको मोबाइल भ्यानको उद्घाटन गरेका थिए ।
कम्पनीका उपकार्यकारी प्रमुख विश्वजन थापा श्रेष्ठका अनुसार घुम्ती सेवाले बीमाको पहुँचबाट बाहिर रहेका सर्वसाधारणलाई उनीहरुकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने तथा बीमा दाबी प्रक्रियाको बारेमा सचेतना सहितको सेवा कम्पनीले दिने छ ।
गत चैत ८ गतेबाट औपाचारिक रुपमा बुटवलबाट सेवा शुरु गरेको उक्त कम्पनीले देशभरका झण्डै १ दर्जन शाखा तथा उपशाखामार्फत निर्जिवन बीमा सेवा प्रदान गरेको सो अवसरमा जानकारी दिइएको थियो ।