ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालिबीच ‘हरित आवास कर्जा प्रवाह’सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकले ललितपुरको गोदावरी नगरपालिका–३ किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरीदकर्तालाई सहज रूपमा कर्जा प्रवाह गर्नेछ । बैंकले भूमि तथा प्यासिफिकले विक्री गर्ने वातावरणमैत्री आवासीय घर खरीद गर्न चाहने ग्राहकलाई ३ कार्यदिन भित्र सरल र सहज कर्जा प्रवाह गर्ने बताइएको छ ।
यसका साथै बैंक भूमि तथा प्यासिफिकले निर्माण गर्ने परियोजनाको बंैकिङ पार्टनरको रूपमा रहनेछ । बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८ दशमलव ९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कुल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १ दशमलव ७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ ।
इको–फ्रेन्डली घर/भवन र अपार्टमेन्टको निर्माण गर्न, पर्यावरणमैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याट खरीद गर्नका लागि यो कर्जा लिन सकिनेछ । यसका साथै वातावरणमैत्री उपाय अवलम्बन गर्ने क्रममा विद्यमान भवनलाई स्तरोन्नति तथा इको–फ्रेन्डली भवनको मर्मतसम्भारका लागि समेत कर्जाको उपभोग गर्न सकिने बताइएको छ ।