
चितवनको कालिका नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहन स्वरुप ३१ लाख रुपैयाँ अनुदान वितरण गरेको छ । उनीहरूलाई नगरपालिकाले प्रतिलिटर एक रुपैयाँका दरले अनुदान दिएको हो ।
आर्थिक वर्ष २०७९/०८० मा दुध उत्पादन गरी दुग्ध उत्पादक सहकारी संस्थामा विक्री गर्ने कालिका नगर क्षेत्रभित्रका ७ ओटा सहकारी संस्थामार्फत अनुदान रकम वितरण गरिएको हो । दुग्ध उत्पादक सहकारी संस्थामा विक्री गर्ने दूध उत्पादनमा अनुदान कार्यक्रमअन्तर्गत छनोटमा परेका कृषकलाई प्रतिलिटर १ रुपैयाँका दरले ३१ लाख ३३ हजार ९७३ रुपैयाँ अनुदान सहकारीमार्फत नगरपालिकाले वितरण गरेको हो ।
नगरप्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तमाङले संयुक्त रूपमा ७ ओटा सहकारीका अध्यक्ष र व्यवस्थापकलाई उनीहरूले विक्री गरेको दूधको आधारमा पाउनुपर्ने अनुदान रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा नगरप्रमुख रेग्मीले नगरपालिकाले कृषि र पशुपालनलाई विशेष प्राथमिकता दिँदै आएको बताए ।
यो वर्ष पनि दूधमा प्रतिलिटर १ रुपैयाँ अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिए । कार्यक्रमबाट साना, ठूला सबै किसान लाभान्वित हुने बताए । यो वर्ष पनि पशुपालक कृषकलाई घाँसको बीउ पर्याप्त मात्रामा पालिकाले उपलब्ध गराउने उनको भनाइ छ । उत्पादनमा लागत घटाउँदै आर्थिक वृद्धि दर बढाउनेतर्फ किसानलाई लाग्न समेत उनले सुझाव दिए ।
दूधसँगै दुग्ध परिकार उत्पादनमा सहकारीले ध्यान दिनुपर्नेमा उनले जोड दिए । आफ्नै उत्पादन गरेर ब्रान्डिङ गर्न उनले सुझाव दिए । त्यसका लागि आवश्यक मेसिनदेखि अन्य सहयोग गर्न पालिका तयार रहेको उनको भनाइ छ ।